भारत र चीनले निर्माण गर्ने विद्यालयको शुरू भएन काम

दोलखा जिल्लामा भारत र चीनले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका सामुदायिक विद्यालय भवनको निर्माण शुरू हुन सकेको छैन । २०७२ को भूकम्पले ध्वस्त बनेका विद्यालय निर्माणका लागि भारत र चीनले प्रतिबद्धता गरेका थिए । भारतले १० र चीनले ३ ओटा विद्यालय पुनर्निर्माण गर्ने बताएका थिए ।
जिल्लामा एशियाली विकास बैंक (एडीबी) ले निर्माण गर्ने भनेका विद्यालयहरू निर्माण भई भटाभट हस्तान्तरण भइरहेका छन् । तर भारत र चीनले निर्माण गर्ने भनेका विद्यालयको काम अझै शुरू नहुँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लामो समयसम्म विद्यालय भवन निर्माण नहुँदा पठनपाठनमा समस्या परिरहेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको गुनासो छ ।
भूकम्पले विद्यालय भत्काएलगत्तै भारत सरकारले दोलखाका कालिञ्चोक मावि चरिकोट, कालिनाग मावि सुनखानी, भीम मावि दोलखा, क्षत्रावती मावि क्षेत्रपा, कालिढुंगा मावि मिर्गे, कालापानी मावि जफे, शान्तिआदर्श मावि लादुक, मानेडाँडा मावि झ्याँकु, दुर्गा मावि मागापौवा तथा गुप्तेश्वर मावि मालुको विद्यालय भवन निर्माण गर्ने जिम्मा लिएको थियो ।
यस्तै, चीन सरकारले शिक्षा विभागमार्फत भूकम्पअघि नै निर्माण गर्ने जिम्मा लिएको दोलखाको जिरी नगरपालिकास्थित जिरी माविको भवन अहिलेसम्म निर्माण गरेको छैन । चीन सरकारले रू. १ अर्ब १७ करोडको लागतमा विद्यालय भवन निर्माण गर्ने बताए पनि अहिलेसम्म निर्माण प्रारम्भ भएको छैन । भूकम्पपछि निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको सर्व मावि जिलु र कालिनाग मावि सिँगटीको पनि निर्माण शुरू भएको छैन ।