शनिबार ‘मारुनी’ को आशातित व्यापार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनीत फिल्म ‘मारुनी’ ले शुक्रबारको तुलानामा शनिबार केही आशातित व्यापार गर्न सफल भएको छ । मल्टीप्लेक्समा साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ को चेपुवामा परेको यो फिल्मले सिंगल स्क्रिनमा भने दर्शकको उल्लेख्य साथ पाएको वितरकको दाबी छ । शनिबार फिल्मले देशैभर हाउसफुल दर्शक पाएको जानकारी प्राप्त छ । फिल्मको व्यापार सिंगल स्क्रिनमा राम्रो छ ।
निर्मात्री पुनम गौतका अनुसार, शनिबार काठमाडौंका मल्टिप्लेक्सका केही शोजमा फिल्मको अकुपेन्सी ९० प्रतिशतसम्म देखिएको छ । शनिबार बिहानैदेखि मध्यम वर्गीय दर्शकको सर्वाधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हलमा फिल्मले हाउसफुल व्यापार गरिरहेको वितरकले बताएका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्नेमा निर्माण टिम पूर्ण विश्वस्त छ ।