वातावरणीय विनाशबिनाको विकास
प्राध्यापक अमत्र्य सेनका अनुसार विकास प्रक्रियाको अन्तिम लक्ष्य मानव विकास हो । जसको दायराभित्र सामाजिक प्रगति, आयमा वृद्धि, क्षमता विकास, समता, सहभागिता तथा स्वतन्त्रता, वातावरणीय दिगोपना र मानवीय सुरक्षा पर्दछ । खासगरी सन् २००० मा घोषित सहस्राब्दी विकास लक्ष्यमा पहिलो पटक मानव विकास र वातावरणलाई अन्योन्याश्रित पक्षका रूपमा स्वीकार गरिएको थियो । तथापि सन् १९८० को दशकमै दिगो विकासको अवधारणासँगै विकासमा वातावरणीय विषयले प्राथमिकता पाएको हो । दिगो विकासले विकासका क्रममा प्राकृतिक स्रोतको समुचित उपयोग गरी भावी पुस्ताले पनि स्रोतको प्रयोग गर्न पाउने अवस्थाको ग्यारेन्टी गर्नु पर्छ भन्ने कुराको वकालत गर्दछ । दिगो विकासले विकासका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय र शासकीय आयाम समेटेको हुन्छ ।
विकासको पुरानो मान्यता, जसले स्रोतको अधिकतम प्रयोगमार्फत विकास प्रक्रियालाई अघि बढाउनुपर्ने मान्यता राख्दथ्यो, त्यो असफलसिद्ध बनेको छ । प्राकृतिक संसाधनको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोगमार्फत गरिएको विकासले वास्तवमै मानवीय आवश्यकताको परिपूर्ति र दिगोपना सुनिश्चित गर्दछ । विकास प्रक्रिया स्वाभावैले मानवीय स्वार्थपूर्तिको बाटो हो तर प्रकृतिको संरक्षण र सन्तुलन गर्ने दायित्व पनि मानिसमै रहेकाले सनातन पर्यावरणीय चक्रमा न्यूनतम असर पुग्ने तरिकाले मानवीय क्रियाकलाप सञ्चालन हुनु पर्छ । प्राकृतिक स्रोतको उपयोग नगरी मानिस जीवित रहन सक्दैन तर आज प्राकृतिक स्रोतको अत्यधिक दोहन गरियो भने भोलिको पुस्ताको अस्तित्व सङ्कटमा पर्दछ । विकासको दिगोपना र अत्युत्तम लाभका लागि आर्थिक दिगोपना, सामाजिक र सांस्कृतिक दिगोपना तथा वातावरणीय दिगोपना सुनिश्चित हुनु पर्छ ।
विकास र वातावरणको विरोधाभाष
विश्वमा अहिले ‘मानवीय क्रियाकलाप र वातावरण’ एउटा चोटिलो मुद्दा बनिरहेको छ । आर्थिक विकासको होडबाजीमा वातावरणीय दिगोपना प्राथमिकतामा पर्न नसक्दा र विकासको स्वाभाविक गति अघि बढिरहँदा वातावरण प्रदूषण, हरितगृह प्रभाव, जलवायु परिवर्तन जस्ता नकारात्मक असरहरू बढिरहेका छन् । मानव विकासको प्रमुख सूचकको रूपमा रहेको आयमा तीव्र रूपमा वृद्धि हुँदा मानिसको प्राकृतिक स्रोतको उपभोगको दर पनि बढिरहेको छ । मानवीय क्रियाकलाप स्वभावतः प्रकृतिको चक्रको सन्तुलनभन्दा पनि प्रकृतिमा प्राप्त पदार्थ वा ऊर्जालाई सकेसम्म बढी मात्रामा आफ्नो हितमा रूपान्तरण गर्नमा केन्द्रित हुन्छन् । जसले गर्दा प्रकृतिको सन्तुलित चक्रीय प्रणाली खल्बलिन्छ । स्रोतको दोहन बढ्दा सृजित वातावरण विनाशको फलस्वरूप विभिन्न प्राकृतिक प्रकोपको दर तथा त्यसले पु¥याउने क्षतिमा समेत बढोत्तरी भइरहेको छ । बढ्दो औद्योगिकीकरणका कारण कार्बनडाइअक्साइड लगायत हरित गृह ग्यासको मात्रा बढ्दै जाँदा उष्णीकरणमा वृद्धि भइरहेको छ ।
तापव्रक्रम वृद्धिले हिमाल पग्लने र समुद्री सतहमा पानीको मात्रा वृद्धिसँगै विभिन्न वातावरणीय जोखिम निम्ताइरहेको छ । अतिवृष्टि, अनावृष्टि, सुक्खा खडेरीलगायत वातावरणजन्य घटना बढिरहेका छन् । कतै खडेरी, कतै बाढीपहिरो र तटीय क्षेत्रमा आँधीबेहेरी जस्ता प्राकृतिक प्रकोपका घटनामा वृद्धि भइरहँदा धेरै मानिस वातावरण शरणार्थी हुनु परेको छ । जलप्रदूषण, वायुप्रदूषणलगायत वातावरणीय प्रदूषणका कारण रोगब्याधिको जोखिम बढिरहेको छ । प्रदूषणबाट सृजित स्वास्थ्य समस्याको समाधानमा हुने खर्चका कारण गरिब देशहरू झनै गरिब बन्दै गइरहेका छन् । जलवायु परिवर्तनले गर्दा खाद्यान्न उत्पादन घटेसँगै भोकमरीको समस्या बढिरहेको छ भने पानीका स्रोतको क्षयीकरणले समस्यालाई झनै चर्काउँदै छ । मानव विकासका क्षेत्रमध्ये खाना, पानी र ऊर्जा यस्ता तीन महìवपूर्ण क्षेत्र हुन् । जसका लागि मानिसले प्राकृतिक स्रोतमाथि अत्यधिक निर्भर हुनु पर्छ । गुणस्तरीय जीवनयापनका लागि यी तीन वटै स्रोतको आवश्यकता छ तर विश्वका अधिकांश गरिब जनतामा यी स्रोतको पर्याप्त पहुँच छैन । कुपोषण, प्राकृतिक प्रकोप, जलवायुजन्य प्रतिकूलता जस्ता पक्षहरू विकासोन्मुख देशको आर्थिक वृद्धिका मुख्य बाधक बन्नुका साथै समग्रमा मानव विकासमा तगारो साबित हुँदै गएका छन् ।
मानव–वातवारण सुसम्बन्ध
वातावरण विनाशले मानव विकासमा अवरोध र असमानता सिर्जना गर्ने तथा असमान मानव विकासले वातावरण संरक्षणमा चुनौती थप्ने भएकाले मानव विकास र वातावरण एकआपसमा अन्तरसम्बन्धित विषय हुन् । प्रकृति र वातावरणले मानव विकासका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँछ । मानव मात्रको गुणस्तरीय जीवन र समृद्धि वास्तवमा खाद्यान्न, पानी, ऊर्जा र जैविक विविधताको मात्रा र गुणमा भर पर्छ । त्यसैले वातावरणीय अवस्था नै हाम्रो अस्तित्व, विकास र प्रगतिको निर्धारक हो । हामीले वातावरणलाई कस्तो व्यवहार गर्छौं वा प्राकृतिक संसाधनको कसरी सदुपयोग गर्छौं । त्यसमा नै विकास सम्भव हुन्छ । स्वास्थ्य, शिक्षा, आय तथा लैङ्गिक समानता, पर्यावरण चक्र सन्तुलन र ऊर्जा जस्ता विषयलाई एकसाथ सम्बोधन गरेमा मात्र वातावरणीय दिगोपना प्राप्त हुन सक्छ । मानवीय आवश्यकता पूर्तिसँगै वातावरणको संरक्षण र सदुपयोग गरी दिगो विकास पद्धति अवलम्बन गर्नु अहिलेको आवश्यकता हो ।
आधुनिक मानव विकास अवधारणाले जल, ऊर्जा र खाद्यान्नबिचको पर्यावरणीय तथा सामाजिक आर्थिक अन्तरसम्बन्धको खोजी गर्दछ । वातावरण र विकासबिच तादाम्यता कायम राख्नु दिगो विकासका लागि अनिवार्य सर्त हो । यसका लागि वातावरण संरक्षण सम्बन्धमा बनेका नीति, कानुन तथा वातावरण तथा दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा गरेका प्रतिबद्धताको कडाइका कार्यान्वयन गर्नु पर्छ । त्यस्तै विकासका कार्यहरू सञ्चालन गर्नुपूर्व अनिवार्य रूपमा वातावरणीय एवं सामाजिक प्रभावको मूल्याङ्कन गर्नुपर्ने प्रावधानको अक्षरशः पालना आवश्यक छ । नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग बढाउने, जीवाश्म इन्धनको प्रयोग घटाउने, सहरीकरण तथा औद्योगिकीकरणलाई व्यवस्थित गर्ने, वैज्ञानिक भूमिसुधार तथा भूउपयोग कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, दिगो तथा पर्यावरणमैत्री प्रविधिको प्रयोग गर्ने अनि स्थानीय पुँजी, प्रविधि, श्रम र सिपको उपयोगलाई बढावा दिने विषय प्राथमिकतामा राख्नु पर्दछ ।
प्राकृतिक स्रोतमा स्थानीय जनताको स्वामित्व तथा अग्राधिकार कायम गर्दै प्राकृतिक स्रोतबाट प्राप्त लाभको समन्यायिक वितरणमा जोड दिइनु पर्छ । त्यस्तै प्रदूषकले तिर्ने सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ परिवहनको प्रवर्धन गर्ने, हरित अर्थतन्त्रलाई बढावा दिने र उद्योग, कलकारखानालाई कम प्रदूषक तथा स्वच्छ ऊर्जा प्रयोगमा प्रोत्साहन गर्ने नीति अख्तियार गर्नु पर्छ । ठुला भौतिक पूर्वाधार निर्माण गर्दा सकेसम्म वन, वन्यजन्तु तथा समग्र जैविक विविधताको कम क्षति हुने विकल्पको खोजी गर्नु पर्छ ।
वास्तवमा वातावरणीय दिगोपना विकास प्रक्रियाको महत्वपूर्ण पाटो हो । आजको विकास प्रक्रियामा वातावरणको विनाश हुन पुग्यो भने भोलिका पुस्ताका लागि आवश्यक आर्थिक सामाजिक विकासका आवश्यकता पूर्ति गर्न स्रोतसाधनको अभाव हुन्छ । प्राकृतिक स्रोतको पुनःभरण हुने प्रक्रियाभन्दा उपयोगको गति बढी भयो भने असन्तुलन सिर्जना हुन्छ । त्यसैले मानवीय क्रियाकलाप प्राकृतिक असन्तुलन गराउने खालका हुनु हुँदैन र प्राकृतिक स्रोतको उपयोगले त्यसको पुनःभरणसँग तादात्म्यता राख्नु पर्छ । सिद्धान्ततः वातावरणीय विनाशको दीर्घकालीन असर मानवीय अस्तित्वसँग प्रत्यक्ष जोडिएको हुन्छ । प्रकृतिमा आश्रित मानवीय चोला प्रकृतिबिना कल्पना पनि गर्न सकिँदैन । इतिहासलाई हेर्ने हो भने मानव सभ्यताको उत्थान र पतनमा वातावरणीय सङ्कटकै हात रहेको छ । पर्यावरणीय विनाश वा प्रकोपका कारण इतिहासका केही मुख्य मानव सभ्यता विलीन भएका छन् । प्रकृतिसँग जुध्ने वा विनाश गर्नुभन्दा पनि प्राकृतिक सम्पदाको उचित संरक्षण गरेर विकास अभियान अँगाल्न सके सम्पूर्ण मानव जगत्को हित हुने कुरामा शङ्का छैन । त्यसैले पनि वातावरण जोगाउन आज चालिने कदमले अहिलेको मावन मात्रको भविष्यको निक्र्योल गर्ने छ । दिगो विकासको सिद्धान्तलाई अवलम्बन गरी विकासलाई वातावरण संरक्षणसँग जोडियो भने मात्र दीर्घकालसम्म विकास सम्भव हुन्छ ।