निर्माता शाहीलाई थप एक हप्ता हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई थप एक हप्ता हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि तीन पटक दुई/दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । बिहीबार भएको बहसको आधारमा निर्माता शाहीलाई अनुसन्धानको लागि थप एक हप्ता म्याद थपिएको निर्माता सुदीप खड्काले जानकारी दिए ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले बिहीबार म्याद थपका लागि निर्माता शाहीलाई अदालत लगेको थियो । अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा उनीलाई गएको बुधबार महानगरीय अपराध महाशाखा टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालत पुर्याएको थियो ।
अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले गएको एक वर्ष अगाडि महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।