भारतको अन्तिम तगारो अस्ट्रेलिया

अहमदावाद । एक अर्ब ४० करोड जनसंख्याको भारत आइतबार साँच्चै टक्क अडकिनेछ, जति बेला रोहित शर्मा र विराट कोहली सम्मिलित टिमले विश्वकप फाइनलमा पाँच पल्टको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । फाइनल हुनेछ, नरेन्द्र मोदी स्टेडियममा । यसको दर्शक क्षमता नै रहेको छ, एक लाख ३० हजार । सन् २०१५ मा यसको निर्माण सुरु भएको थियो र त्यति बेला यसको उद्देश्य थियो, आठ वर्षपछि यही फाइनलको आयोजना गर्ने । यस्तोमा सबैभन्दा बढी दर्शकको कीर्तिमान पनि बन्ने छ ।
चेन्नाइबाट धर्मशाला अनि मुम्बईबाट कोलकाता, भारतले पछिल्ला छ साता राष्ट्रिय भावनामा डुबेका आफ्ना समर्थक अगाडि खेलेको छ । यसक्रममा भारतले लगातार १० खेल जितेको छ र यो नै पूरा प्रतियोगितामा अपराजित एक्लो टिम रहेको छ । ‘हामीलाई थाहा छ, फाइनलमा दर्शक पूरापूर भरिनेछ,’ अस्ट्रेलियाली कप्तान प्याट कमिन्स भन्छन्, ‘एक लाख ३० हजार दर्शक भारतको समर्थनमा हुनेछन् । त्यसैले फाइनल रोमाञ्चक हुनेछ ।’
अझ उनी अगाडि थप्छन्, ‘सबैलाई के पनि थाहा छ भने यो दर्शक पूर्णतः एकपक्षीय रहने छ । हामीलाई यिनै दर्शक झेल्नु बाहेक अर्को उपाय छैन् । तर खेलकुदमा यस्ता दर्शकलाई चुपचाप पार्नुको मज्जा पनि छ । यसले खुबै सन्तोष पनि दिन्छ । हाम्रो उद्देश्य फाइनलमा त्यही हो, भारतीय समर्थकलाई स्तब्ध पार्ने ।’ सबैको नजर पर्ने एक खेलाडीमा विराट कोहली पनि रहने छ । जुन स्वभाविक पनि छ र उनकै प्रदर्शन धेरै हदसम्म भारतको जित हार तय गर्नेछ ।
कोहली त्यस्ता खेलाडी हुन्, जसले वान डे क्रिकेटमा ५० शतक बनाएका छन् । अनि यसपल्टको विश्वकपमा सात सय ११ रन बनाइसकेका छन्, १० इनिङ्समा । उनको ओसत बनेको छ, १०१.५७ । उनको धेरै पछाडि रोहित र डेविड वार्नर छन् । रोहितले पाँच सय ५० रन बनाएका छन् भने वार्नरले पाँच सय २८ । तर भारतको यस विश्वकपमा सुमधुर यात्रा पछाडि त्यो भन्दा पनि ठूलो कारण छ र त्यो हो, बलिङ । त्यसको नेतृत्व गरिरहेका छन्, मोहम्मद सामीले ।