हेटौंडामा डेंगु नियन्त्रण गर्न प्रदेश ३ सरकार असफल, प्रदेशभरीनै महामारी फैलिने जोखिम

हेटौंडा / हेटौंडा कमलडाँडाकी एन्जिला श्रेष्ठ दुई हप्तादेखि टेकु अस्पतालमा उपचार गराइरहनु भएको छ । डेंगुबाट संक्रमित श्रेष्ठ हेटौंडाका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि टेकु आइपुग्नु भएको हो । श्रेष्ठ मात्रै होइन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजोआज धेरै बिरामी मकवानपुर हेटौंडाकै छन ।
‘कमलडाँडाभरी नै डेंगु फैलिएको छ । डेंगु लाग्ला, डेंगु लाग्ला भनेर सजग हुदाँहुँदै टोकेछ’ मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ कमलडाँडाकी श्रेष्ठले भन्नुभयो, ‘डेंगु लागेपछि निको हुन समय लाग्ने रहेछ ।’
श्रेष्ठका अनुसार कमलडाँडाका घरपिच्छे डेंगुका बिरामी छन । कपितय घरमा एकै परिवारका सात जनामा पनि डेंगु लागेको छ । डेंगुले गर्दा हेटौंडाका सबैजसो अस्पताल तथा मेडिकलमा बिरामीको चाप छ । बेड नपाएका बिरामी काठमाण्डौ आएका छन् भने कोही चितवनसम्म पुगेका छन् । ‘हेटौंडामा डेंगुले सबैभन्दा बढी प्रभावित भएको हाम्रै ठाउँ हो’, उहाँले भन्नुभयो, ‘घरैपिच्छे डेंगुका बिरामी छन् । केही ठाउँमा एकै घरका सात जनासम्म बिरामी परेका छन् ।’
हेटौंडा सहितका जिल्लामा डेंगु नियन्त्रण गर्न प्रदेश सरकारको भुमिकै भएन
डेंगु नियन्त्रण गर्नका लागि एक महिना अगाडी देखि हेटौंडा उपमहानगरपालिकाले निरन्तर अभियान चलाएको छ । मेयर हरिबहादुर महतको नेतृत्वमा सबै वडाका वडाअध्यक्ष, वडा सदस्य, कर्मचारी, टोल विकास संस्थाका सदस्यहरु निरन्तर अभियानमा लागेका छन् । तर नगरको मात्र प्रयासले संभव नभएको उनीहरुको गुनासो छ । हेटौंडामानै प्रदेश सरकार छ । तर, डेंगु प्रभावित नगवासीहरुले प्रदेश सरकार भएको अनुभूती नगरेको गुनासो गरेका छन् ।
डेंगु नियन्त्रणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य निर्देशनालयले दुईपटक औपचारिक कार्यक्रम गर्नु भन्दा बाहेक अरु केही नगरेको स्थानीयको गुनासो छ । पत्रकारहरुसंगको अन्तरक्रिया र शिक्षकहरुसंगको अन्तरक्रिया कार्यक्रम गरेको प्रदेश सरकारले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा दिनहुँ यसका बिरामी बढ्दा पनि खासैचासोका रुपमा नहेरेको स्वयंस्वास्थ्यकर्मीहरु बताउँछन् ।
डेंगुको नियन्त्रण गर्ने, महामारीलाई कम गराउने सबै भन्दा पहिलो दायित्व प्रदेश सरकारको हो । प्रदेश सरकार मातहत जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, हेटौंडा अस्पताल छन् । हेटौंडा उपमहानगरपालिका मातहत साना स्वास्थ्यचौकी मात्र पर्छन् । डेंगुका बिरामी धेरै भएकाले अस्पतालमा उपचारमा अस्तव्यस्त छ । त्यही समस्या देखेपछी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी अस्पतालमा पठाएको छ । तर, हेटौंडामानै रहेको प्रदेश सरकारको खासै भुमिका नदेखिएको नगरवासीहरु वताउँछन् ।
यस्तै दाङ तुल्सीपुरका बिनायक बस्नेत पनि उपचारका लागि टेकु आइपुग्नु भएको छ । ट्रकमा सहयोगीको काम गर्ने बस्नेतले दाङकै विभिन्न अस्पतालमा उपचार गराए पनि निको नभएपछि तीन दिनअघि टेकु आइपुग्नु भएको हो । ‘जति औषधि खाए पनि सञ्चो नभएपछि आएको हुँ’, उहाँले भन्नुभयो, ‘यहाँ आएपछि निको हुँदै गएको छ । चाँडै घर फर्किने आश पलाएको छ ।’
हेटौंडामा डेंगु सार्ने लामखुट्टे नियन्त्रणको अभियान चलाएका अभियान्ता नै बिरामी परे
हेटौंडामा डेंगु सार्ने लामखुट्टे नियन्त्रणको अभियान चलाएका अभियान्ता नै बिरामी परे । हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडामा लामखुट्टे नियन्त्रणका लागि अभियान चलाउँदा केही स्थानीय र टोल सुधार समितिकै सदस्य पनि बिरामी परेका थिए । अभियानताहरु निरन्तर एक महिनादेखि उपमहानगरपालिकाको नेतृत्वमा लागिपरेका छन् ।
तर, धेरै अभियानताहरु अझै थाकेका छैनन् । केही भने बिरामी परेर ओच्यानमा ढलेका छन् । तर, अभियान आजका दिन सम्म पनि कुनैन कुनै रुपमा जारी छ । अभियान जारी छ । बिरामी दिनहुँ बढ्दै छन् । स्थानीय टोल सुधार समिति कमलडाँडाकी मौसमी श्रेष्ठ डेंगु नियन्त्रणका लागि घरदैलो अभियान चलाए पनि प्रभावकारी हुन नसकेको बताउनुहुन्छ ।
‘स्थानीय चिकित्सक, नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरी, जनप्रतिनिधि, टोल सुधार समिति सदस्य सबै मिलेर लामखुट्टे नियन्त्रणको अभियान चलाएका हौँ’ टेकु अस्पतालमा भेटिएकी उहाँले भन्नुभयो, ‘बहिनी बिरामी भएपछि म यता आए । उता अभियान चले पनि डेंगु नियन्त्रण भएको छैन । झन् फैलिएको छ ।’
लक्षण – उच्च ज्वरो आउने, टाउको दुख्ने
‘एडिज’ प्रजातीको लामखुट्टेले टोकेपछि डेंगु लाग्छ । यसलाई डेंगु भाइरस पनि भन्ने गरिन्छ । अरु प्रजातीभन्दा फरक र अनौठो मानिने एडिज लामखुट्टे सफा पानीमा बस्छ । एकैदिन दश जनासम्मलाई टोक्छ ।
डेंगु लागेपछि उच्च ज्वरो आउँछ । रिंगटा लाग्छ । टाउको भारी हुन्छ । फुट्लाझैं गरेर बेस्सरी दुख्छ । हातखुट्टा लल्याकलुलुक हुन्छन । खान मन लाग्दैन । ‘१०४ डिग्रीसम्म ज्वरो आउँछ । बिहानतिर सबैभन्दा धेरै ज्वरो आउँछ’ हेटौडाकी एन्जिला श्रेष्ठले भन्नुभयो, ‘बेस्सरी टाउको दुख्ने, खान मन नलाग्ने, उठ्नै गाह्रो हुन जस्ता लक्षण देखिन्छन । जति औषधि खाए प्नि सित्तिमित्ति सञ्चो हँुदैन । ज्वरो घट्दैन ।’
यसबाहेक धेरै निन्द्रा लाग्ने । पानी मात्रै पिउन मन लाग्ने । खाना नरुच्ने । रिंगटा लागेर उभिन पनि गाह्रो हुने । आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने लगायतका लक्षण देखा पर्छन् । यीमध्ये कुने दुई लक्षण देखा परेमा डेंगुको संक्रमण हुन सक्ने डाक्टरहरुको भनाइ छ ।
झापा, सुनसरीदेखि मकवानपुरसम्म महामारी
डेंगुले केही जिल्लामा महामारीकै रुप लिइसकेको छ । झापा, सुनसरी, मोरङ, चितवन, कास्की र मकवानपुरमा डेंगुले महामारीकै रुप लिएको टेकु अस्पतालले जनाएको छ ।
अहिलेसम्म डेंगुबाट तीन जनाको ज्यान गइसकेको छ भने झण्डै चार हजार बिरामी छन । सबैभन्दा धेरै बिरामी सुनसरीमा तीन हजार २५ जना छन् । ज्यान गुमाउनेमा सुनसरी, मोरङ र चितवनका छन् ।
सुरुमा पूर्वी नेपालको झापा, सुनसरी, धनकुटा, मोरङमा देखिएको डेंगुले पछिल्लो समय चितवन, कास्की र मकवानपुरमा समेत महामारीकै रुप लिएको टेकु अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले बताउनुभयो ।
‘डेंगुको संक्रमण फैलिंदै गएको छ । केही जिल्लामा महामारीकै रुप लिएको छ भने केहीमा झन फैलिंदो छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार गएको साउन महिनामा टेकु अस्पतालबाट १७ जिल्लाका ८५ जना बिरामी उपचार गरेर फर्किएका छन् । भदौ पहिलो हप्तामा एकैदिन ८ जनासम्म बिरामी टेकु अस्पताल पुग्ने गरेका पनि खतिवडाले बताउनुभयो ।
नेपालमा डेंगुको विगत
एडिज प्रजातीको लामखुट्टेले टोकेपछि लाग्ने डेंगु नेपालमा पहिलो पटक सन् २००४ मा भेटिएको थियो । त्यतिबेला एक जना विदेशीमा भेटिएको यो रोग त्यसको दुई वर्षपछि तराईका नौ जिल्लामा फैलियो ।
नेपालमा डेंगु भित्रिएको ६ वर्षपछि अर्थात सन् २०१० मा महामारीको रुप लिएको हो । त्यतिबेला चितवन, रुपन्देही, नवलपरासीलगायत देशभरीमा ९ सय १७ जना संक्रमित हुँदा पाँच जनाको डेंगुबाट ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।
चितवनमा बढी देखिएको डेंगु सन् २०१६ मा पूर्वी नेपालको झापा, सुनसरी, धनकुटा लगायतका जिल्लामा पनि फैलियो । त्यतिबेला बिरामीको संख्या बढेर १५ सय २७ पुग्यो ।
सन् २०१७ मा डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार १ सय ११ पुग्दा चितवन, झापा, रुपन्देही, सर्लाही र महोत्तरीमा महामारीको रुप नै लियो । गएको वर्ष केही घटेर ८ सय ११ जना मात्रै डेंगुबाट संक्रमित हुँदा रुपन्देही र चितवनमा भने महामारी कायमै छ ।
यस वर्ष चितवन, रुपन्देही, झापा, सुनसरी लगायतका जिल्लामा मात्रै नभई मकवानपुरमा समेत डेंगुको महामारी फैलियो । यसपटक तीन जनाको ज्यान जाँदा झण्डै चार हजार मानिस बिरामी छन् ।
अबको जोखिम
सुरुमा मध्य तथा पूर्वी तराईका जिल्लामा देखिएको डेंगु अहिले पहाड चढेको छ । कास्की र मकवानपुरमा देखिएको एडिज नामको लामखुट्टे झण्डै तीन वर्षअघि काठमाण्डौ आइपुगेको हो ।
तर मकवानपुर र कास्कीमा जस्तो महामारी काठमाण्डौमा फैलिसकेको छैन । तर यस वर्ष बिरामीको संख्या हेर्दा काठमाण्डौैँ उपत्यकामा महामारी फैलिन सक्ने जोखिम भने बढेको छ ।
पहाड चढेसँगै काठमाण्डौ उपत्यका लगायत देशैभर डेंगुुको महामारी फैलिन सक्ने जोखिम बढेको टेकु अस्पतालका प्रमुख रुपनारायण खतिवडा बताउनुहुन्छ ।
‘डेंगु फैलिदो क्रममा रहेकाले जोखिम बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘यही अवस्थामा फैलिंदा नियन्त्रण गर्न सकिएन भने देशैभर महामारीको जोखिम हुन सक्छ ।’
न्युनतम १६ डिग्री सेल्सियसमा पनि डेंगु सार्ने एडिज लामखुट्टे हुर्कन र बढ्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार मंसिर, पुस र माघ बाहेक अरु महिना एडिज लामखुट्टेका लागि अनुकूलको समय हो । प्रायः असार, साउन र भदौमा धेरै नै संक्रमण देखिने डेंगु अब बाह्रै महिना सक्रिय हुने र रोग सार्ने जोखिम रहेको प्याकुरेलको भनाइ छ ।
डेंगु नियन्त्रणको सरकारी प्रयास असफल
गएको वर्ष ८ सय ११ जनामा मात्रै डेंगु देखिएको थियो । तर यस वर्षको असार तथा साउन महिनामै पूर्वी नेपालको तराईमा डेंगुले महामारीको रुप लियो । सरकारले महामारी नियन्त्रणका लागि चिकित्सकसहितको केन्द्रीय टोली नै परिचालन गरे पनि खासै प्रभावकारी भएन । फलस्वरुप पूर्वी नेपालबाट चितवन हुँदै मकवानपुर र कास्कीमा डेंगुको महामारी फैलियो ।
नभन्दै साउन मसान्त र भदौ पहिलो हप्तासम्म तीन जनाको ज्यान जाँदा डेंगुबाट प्रभावित हुने बिरामीको संख्या झण्डै चार हजार पुगेको छ । यसबीचमा संघ, प्रदेश र पालिकाहरुले गरेको डेंगु नियन्त्रणको प्रयास पनि सफल भएन ।
संघ, प्रदेश र पालिकाबीच समन्वय भएन
डेंगुको प्रकोप झन फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलो हप्ता सबै सरोकारवालाहरुको बैठक बोलायो । बैठकमा सातै प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख समेत सहभागी थिए ।
बैठकले डेंगु नियन्त्रणका लागि सातै प्रदेश र सबै पालिकालाई साथमा लिएर अभियान चलाउने निर्णय गरेको थियो । तर त्यसको असर देखिएन । डेंगु नियन्त्रण हुनुको साटो झन् झन् बिरामी बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरु चिन्तित छन् ।
‘विगतमा भएका स्वास्थ्य निकायका संरचना अहिले छैनन् । पालिका सरकारसँग समन्वय गर्न सजिलो भए पनि स्रोत साधन प्रयोग गर्न सहज छैन’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले भन्नुभयो, ‘संघ, प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन ।’
उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि सम्बद्ध सबै मन्त्रालयका निकाय, संघ, प्रदेश र पालिकाका प्रतिनिधिसँग यसै हप्ता संयुक्त छलफलको तयारी गरेको छ । बैठकमा छलफल गरेपछि आवश्यक परे मन्त्रिपरिषदमा प्रस्ताव लिएर भए पनि डेंगु नियन्त्रणको अभियान व्यापक बनाउने उहाँले बताउनुभयो ।
‘डेंगु नियन्त्रणका लागि सरकारले अभियान जारी राखेको छ’ उहाँले भन्नुभयो, ‘सबै सरोकारवालासँग बैठक गरेपछि त्यसबाट आउने सुझाव समेट्दै आवश्यक परे मन्त्रीपरिषदमै प्रस्ताव लिएर अभियान व्यापक बनाएर पनि डेंगु नियन्त्रण गर्ने योजना छ ।’
चितवनमा डेंगुको प्रकोप स् ३ जनाको ज्यान गयो , ४ सय ३३ जनामा संक्रमण
चितवनमा सरुवा रोग डेंगुको संक्रमण बढ्दै गएको छ । बिरामीको अवस्थाको अध्ययन गर्दा जिल्लाको ग्रामीण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा डेंगुको प्रभाव धेरै देखिएको छ । डेंगुको विषाणु भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।
चितवनमा यस आर्थिक वर्षको साउन महिनादेखि भदौ १० गतेसम्ममा ४ सय ३३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका भेन्ट्रल कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । चितवनको ९ ओटा अस्पतालमा साउन देखि भदौ १० गतेसम्ममा १३ सय ५६ जनाको परीक्षणमा ४ सय ३३ जनामा संक्रमण भेटिएको उहाँले बताउनु भयो ।
अधिकांश डेंगु संक्रमित भरतपुर महानगरपालिकाभित्रका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर-१, २, ३, ४, १०, १ र १२ गरी ७ ओटा वडाका रहेका छन् । महानगरले जोखिम मानिएका वडाहरूमा तीन दिने ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिसकेको छ । भरतपुर महानगरपालिकामा मात्रै २ सय ५३ जना डेंगुबाट संक्रमित रहेका छन् ।
‘डेंगुकै कारण तीन जनाको मृत्युसमेत भइसकेको छ’, केसीले भन्नुभयो, ‘डेंगुको प्रकोप बढ्दै गएका कारण महामारीको रुप लिन सक्छ । ग्रामीण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा डेंगुको प्रभाव धेरैै देखिएको छ । बजार बस्तीमा लामखुट्टेको लाभ्रा नष्ट गर्दै चेतनाका कार्यक्रम गर्दै आएका छौँ ।’
गएको साउन २३ गते पश्चिम चितवनको शुक्रनगर घर भएकी १६ वर्षीया युवतीको डेंगुको कारण ज्यान गएको थियो । त्यसपछि साउन ३१ गते नारायणगढ घर भएका ७६ वर्षीय एक वृद्धाको डेंगु र स्क्रपटाइपसको कारण ज्यान गयो । त्यसपछि यही भदौ ७ गते उपचारको लागि रौतहटबाट चितवन आउनु भएका ३४ वर्षीय एक युवकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको भेक्ट कन्टोलर केसीले जानकारी दिनुभयो ।
चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ् मेडिकल साइन्सेस् शिक्षण अस्पताल, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेसनल सिटी अस्पताल, पुष्पाञ्जली अस्पताल र रत्ननगर नगरपालिकामा रहेको वकुलहर अस्पतालमा डेंगुको परीक्षण हुँदै आएको छ ।
नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमै एक व्यक्तिमा डेंगुको संक्रमण पाइएको थियो । कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/०६८ मा ३ हजार २९८ जनाको डेंगु परीक्षण गरिएकोमा ७३९ जनामा संक्रमण देखिएको थियो । त्यस्तै पाँच जनाको ज्यान गएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा २ हजार २६१ जनाको परीक्षण गरिएकोमा ३७१ जनामा डेंगुको संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेंगु फेला परेकोमा एक जनाको ज्यान गएको थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा १ हजार २ सय ९१ जनामा परीक्षण गर्दा ५९ जनामा डेंगु फेला परेकोमा एक जनाको ज्यान गएको थियो ।
सरकारी अस्पतालमा डेंगु परीक्षण निःशुल्क हुने गरेको भए पनि निजी अस्पतालमा परीक्षणका लागि किट खरिद गर्दा १ हजारदेखि १ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने हुन्छ । निःशुल्क परीक्षण हुने सरकारी अस्पतालमा आवश्यक किट अभाव भएका कारण समस्या बढ्दै गएको केसीले बताउनु भयो ।
लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव दिएका छन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले डेंगु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचाउको मुख्य उपाय भएको जानकारी दिनुभयो ।
टायर, डब्बा, एयर कन्डिसन, एयर कुलर, ड्रम, पानीका ट्याङ्की, गमला लगायतका सामग्रीमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी जम्न नदिन सक्रिय हुनुपर्ने उहाँको सुझाव छ ।
अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनु भयो ।
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने समेतको लक्षण देखा पर्ने अधिकारीले जानकारी दिनुभयो । सामान्य लक्षण देखिना साथ चिकित्सकको सल्लाह लिन उहाँको सुझाव छ ।