कांग्रेस भ्रातृसंस्था कमजोर बनाउँछ, भ्रातृसंस्था कांग्रेसलाई कमजोर बनाउँछन्

काठमाडौं । दुजाङ शेर्पालाई हतार छ । डेढ वर्षअघि राजीव ढुंगानालाई नेविसंघ अध्यक्षबाट बिदा गर्दै उनी पार्टी सभापति शेरबहादुर देउवाबाट नेविसंघ अध्यक्ष मनोनीत भए । केन्द्रीय कार्यसमिति बेगर नै उनका १८ महिना बिते । नभएको कार्यसमितिको एक्लो नेता बनेर बस्दा उनको उकुसमुकुसले केही साताअघि मात्रै त्राण पायो ।
भर्खरै पूर्णता पाएको नेविसंघको केन्द्रीय कार्यसमिति पनि देशभरिका कार्यकर्ताबाट चुनिएको भने होइन । कांग्रेसकै संस्थापन र इतर संस्थापनको भागबन्डामा टिका लगाएर चुनिएको हो । त्यसैले केन्द्रीय पदाधिकारी र सदस्यलाई प्रतिनिधिप्रति कृतज्ञ हुनै परेन । उनीहरु नेताहरुका घरघरै घुमेर धन्यवादका तस्बिरहरु फेसबुकमा रंगाउन थाले ।
दुजाङ भन्छन्, ‘मनोनीत भए पनि पार्टीकै विचारका लागि काम गर्ने हो, तर निर्वाचित हुँदाभन्दा केही न केही त फरक पर्छ नै । अब एक महिनाभित्र नेविसंघको बैठक राखेर अधिवेशन घोषणा गर्छु ।’
यस्तो उकुसमुकुस भोग्ने दुजाङमात्रै होइनन् । कांग्रेसका १३ भ्रातृसंगठनमध्ये मुस्लिम संघबाहेक सबैतिर यही छटपटी छ । मुस्लिम संघले भने भर्खरै अधिवेशन गरेको छ ।
भ्रातृसंगठनलाई नेपाली अर्थ दिंदा भाइहरुको संगठन भन्न सकिन्छ । अंग्रेजीमा चाहिँ सिस्टर अर्गनाइजेसन भन्ने गरिन्छ । अर्थात् बहिनीहरुको संगठन । कांग्रेसमा दाइ नेताहरुकै बर्चस्व अगाडि यी भाइबहिनीहरुको नेतृत्व फल्नफुल्न निकै कठिन बन्दै गएको देखिन्छ । तर भ्रातृसंस्थाहरु कुनै दिन छटपटिनुपर्ला भने खोलिएका भने थिएनन् ।
बहुदलीय प्रजातन्त्र स्थापना अघि दलहरु प्रतिबन्धित हुने गरेकामा भ्रातृसंस्थाहरुले माउपार्टीका विचार मुखरित गर्थे । तिनले पार्टीलाई बलियो बनाउनेछन् भनेर कांग्रेसले भ्रातृसंस्था बनायो । अरु प्रतिष्पर्धी दलहरुले पनि भ्रातृसंस्था बनाउँदै गए ।
१३ वटा भ्रातृसंस्थाहरुले कांग्रेसलाई त्यो बेलासम्म बलियो बनाए, जुन बेलासम्म कांग्रेसले बलिया भ्रातृसंस्था बनायो । जब कांग्रेसले तिनलाई वैचारिक रुपमा निकट, सांगठानिक रुपमा स्वायत्त बनाउन छाड्यो, त्यसपछि टिकेप्रथाबाट छानिएका भ्रातृसंगठनका नेताहरु पार्टी नेताको निवासवरिपरि चक्कर मार्न थाले ।
तरुण दल, नेविसंघ अनेक संघहरुलाई नै हेरौं न । अधिवेशन नगरी केवल नेताहरुको खल्तीबाट छानिएका त्यसका प्रतिनिधिहरुले संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणमा ध्यान लगाउनुसाटो नेताहरुकै वरिपरि घुम्न व्यस्त छन् ।
तदर्थवादमा चलिरहेका यस्ता कार्यसमितिहरुको प्रभाव न्यून देखिन्छ । पार्टीभित्रका समूहलाई चित्त बुझाउन ठूलो आकारमा मनोनीत केन्द्रीय समिति बनाइएको छ । तर, तिनले आफ्नै संगठनलाई गतिशील बनाउन सकेका छैनन् भने माउ पार्टीका गतिविधिलाई पनि टेवा पुर्याउन सकेका छैनन् ।
भ्रातृ संस्थाले आफ्नो अधिवेशन आफैं गरेर नेतृत्व चयन गर्ने हिम्मत जुटाउँदैनन् । अधिवेशन गराउन माउ पार्टीले पहलकदमी नलिए नेतृत्व चयन गर्ने ल्याकत समेत भ्रातृ संस्थाले राख्दैनन् । विधान देखि महाधिवेशनसम्म माउ पार्टीको मुख ताकेका हुन्छन् । पार्टीले नै भ्रातृ संस्थालाई काबुमा राख्ने पद्धति अंगालेकाले उनीहरु स्वायत्त हुन सकेका छैनन् ।
पार्टी हस्तक्षेप नहुँदा तुलनात्मक रुपमा शुभेच्छुक संस्थामा भ्रातृ संस्थाकै सरहमा विकृति भित्रिन पाएको छैन । पारदर्शीता र नियमिति अधिवेशनमा भ्रातृ संस्था भन्दा शुभेच्छुक संस्था अघि देखिन्छन् ।
शुभेच्छुक संस्थाले एक खालको सम्बन्ध मात्रै राखेको हुन्छ । शुभेच्छुक संस्थाको अधिवेशन रोक्न पार्टीले सक्दैन । तर, भ्रातृ संस्थाको सक्छ । शुभेच्छुक संस्थालाई स्वायत्त रुपमा चल्न दिइएको छ । ‘तिम्रो अधिवेशन गर वा नगर’ पार्टीले शुभेच्छुक संस्थालाई भन्न पाउनुपर्छ भनेर पार्टीभित्र पनि बहस भएको थियो । शुभेच्छुक संस्थाको सन्दर्भमा पार्टीले अहस्तक्षेपकारी नीति लिएको छ । शुभेच्छुक संस्थाको अधिवेशन गराउन पार्टीले प्रतिनिधिसमेत खटाएको हुँदैन ।
भ्रातृ संस्थाको गतिविधि चित्त नबुझे जुनसुकै बेला पनि पार्टीले विघटन गर्न सक्दछ । पार्टीले भ्रातृ संस्थाको सर्वाधिकार आफूमा राखेकाले विघटन गर्ने र तदर्थ समिति बनाउने पद्धतिको विकास गरिएको छ ।