अबको ४ वर्षभित्र मङ्गल ग्रहमा स्टारशिप रकेट अवतरण हुन्छः एलन मस्क

स्पेसएक्सका संस्थापक एलन मस्कले अबको तीनदेखि चार वर्षमा मङ्गल ग्रहको सतहमा अन्तरिक्ष यान ‘स्टारशिप’ अवतरण हुने बताएका छन् ।
बिहीवार अजरबैजानमा आयोजित अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल कंग्रेस कार्यक्रममा भिडिओ कन्फ्रेरेन्समार्फत बोल्दै मस्कले स्पेसएक्सले अबको तीनदेखि चार वर्षमा यान अवतरण गर्ने बताएका हुन् ।
कार्यक्रममा स्पेसएक्सले विकास गरिरहेको विशाल रकेट स्टारशिपको प्रगतिको बारेमा मस्कले थप चर्चा गरेका थिए । “मलाई लाग्छ अर्को चार वर्षभित्रमा मङ्गल ग्रहमा मानिस बिनाको रकेटको अवतरणको परीक्षण गर्न सम्भव छ,” मस्कले एक घण्टाको प्रश्न(उत्तर सत्रमा अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल फेडेरेसनका अध्यक्ष क्ले मोरीलाई भने ।
यसो त मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्ष उडानका सन्दर्भमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । विशेषगरी उक्त कम्पनीले तयार पारेको फाल्कोन नाइन रकेटलाई कम्पनीले यो वर्ष ७० पटक प्रक्षेपण गरिसकेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार मस्कले सन् २०१६ मा मेक्सिकोमा आयोजित इन्टरनेसनल एस्ट्रोनटिकल कङ्ग्रेसमा मङ्गल ग्रह जाने पहिलो रकेट सार्वजनिक गरेका थिए । त्यो समयमा मस्कले पहिलो स्टारशिप सन् २०२२ मा मानवबिना मङ्गल ग्रहमा अवतरण हुने अनुमान गरेका थिए । त्यस्तै २०२४ मा मानवसहितको पहिलो रकेट प्रक्षेपण हुने उनको भनाइ थियो ।
हालसम्म मङ्गल ग्रहमा यान अवतरणको प्रगति हेर्दा अप्रिलमा स्टारशिपको एउटा परीक्षण उडान भएको थियो । जसले नियन्त्रणबाट बाहिर निस्कनुअघि लन्चप्याडबाट बाहिर गयो र उडानको केही मिनेटमा स्टारशिपलाई विस्फोट गराउन आदेश दिइयो ।
अहिले मङ्गल ग्रहका लागि दोस्रो अन्तरिक्ष यान तयार भएको मस्कको भनाइ छ । तर, परीक्षणका लागि स्पेसएक्स अमेरिकाको संघीय उड्डयन प्रशासन ९एफएए० ले उपलब्ध गराउने नयाँ प्रक्षेपण लाइसेन्स पर्खिरहेको छ ।
बिहीवारको कार्यक्रममा मस्कले स्टारशिपको डिजाइनमा गरिएको परिवर्तनबारे चर्चा गरेका थिए । मस्कले यो पटक भने मङ्गल ग्रहमा मानिस कहिले पुर्याउन सकिएला भन्नेबारे कुनै अनुमान गरेका छैनन् ।