तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा

जनपत्र
८ भाद्र २०७६, आईतवार १७:११

चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रणालीमा कूल एक हजार ३२५ मेगावाट विद्युत् थप भएको जनाएको सरकारले चालु आवको अन्तसम्म करीब सोही क्षमतामा विद्युत् थप हुने भएपछि विद्युत् उपभोग बढाउन नयाँ उपायको खोजी गरिरहेको छ ।

विद्युत् माग बढाउने लक्ष्यका साथ सरकारले खाना पकाउनका लागि विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य व्यावहारिकरूपमा कार्यान्वयनमा आउन ढिलाइ भइरहेको बेला राजधानी नजिकैको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिकामा भने सामुदायिक पहलमा नै विद्युतीय चुल्हो प्रयोगमा ल्याउने अभियान नै शुरुआत गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै उक्त अभियानको उद्घाटन गरे ।

देशबाट विद्युत्भार कटौतीको अन्त्य भई नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि उपभोक्ता स्वयं विद्युतीय चुल्होतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समयमा ग्रामीण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुल्होको प्रयोग बढिरहेको छ । अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढेको स्थानीयको भनाइ छ ।

सोही क्रममा काभ्रेको तेमाल गाउँपालिकाका बासिन्दा पनि विद्युतीय चुल्होप्रति आकर्षित भएका हुन् । तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुल्होको प्रयोग गराउन अभियान नै शुरु गरेको छ । समुदायकै अग्रसरतामा विद्युतीय चुल्हो प्रयोग अभियानकै रूपमा पहिलोपल्ट शुरु भएको हो ।

कार्यकारी निर्देशक घिसिङले शनिबार गाउँपालिकाको नारायणस्थानमा आयोजित कार्यक्रममा उपभोक्ताहरुलाई इन्डक्सन चुल्हो वितरण गरी अभियानको शुरुआत गरेका हुन् । सहकारी संस्थाले पहिलो चरणमा पाँच हजार ४०० घरधुरीलाई रु छ हजार सात सयमा इन्डक्सन चुल्हो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*