दुई महिनापछी भोली प्रदेशसभा बैठक वस्दै

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभाको बैठक करिब दुई महिनापछि भोली बस्दै छ । गत असार १२ मा वर्षे अधिवेशनमा चालु आर्थिक वर्ष ०७६।७७ को वार्षिक बजेट पारित गर्दै स्थगित प्रदेशसभा बैठक भदौ ८ गते भोलीलाई आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरेको अनुसार लामो समयदेखि स्थगित प्रदेशसभा बैठक आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको वताउनुभयो ।
हाल प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणबाहेक प्रदेश सभामा विधेयक दर्ता भएका छन । यसअघि विभिन्न समितिमा रहेका पाँचवटा विधेयक समितिहरूले विभिन्न चरणमा छलफल गरेर टुंग्याइसकेका छन् । ती बिधेयकहरु प्रदेश सभाले पास गर्ने योजना रहेको छ ।
प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण समितिले छलफल सकेको समितिकी सभापति रमा आलेले बताउनुभयो । मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा स्वास्थ्य र कृषि समितिमा र प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला समितिले विभिन्न चरणको छलफलपश्चात् अन्तिम रूप दिइसकेको छ ।
प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक, निजी, सहकारी साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा भर्खरै मात्र दर्ता गराएको छ । उक्त विधेयक सम्बन्धित मन्त्रालयले प्रदेशसभा पेस गरेपछि मात्र समितिमा पठाइने र समितिले छलफल अगाडि बढाउनेछ । प्रदेशसभामा हालसम्म ४३ वटा विधेयक दर्ता भएका छन, जसमध्ये ३६ वटा पारित भएका र ३५ वटा प्रमाणीकरण भइसकेका छन् ।