बागमती प्रदेश एमालेमा दाहाल र ढुंगेलको नाममा विष्णु र शंकरको शक्ति परीक्षण

जनपत्र
१० आश्विन २०८०, बुधबार ०७:४९

हेटौंडा । सोमबारदेखि सुरु भएको एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनमा भने गुटगत प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार उद्घाटनका क्रममा ओलीले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएका थिए । प्यानलै बनाएर प्रतिस्पर्धा गरेको पाइए उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिएका थिए ओलीले । तर, ओलीको आग्रहविपरीत चुनावबाट नेतृत्व चयन गर्ने तयारीमा एमाले नेताहरू देखिएका छन् ।

एमाले बागमतीको अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्वपोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डे आकांक्षी देखिएका छन् । तर, चुनावी प्रतिस्पर्धाकै स्थितिमा भने दाहाल र ढुंगेल मात्र मैदानमा रहने एमाले स्राेतले बतायाे ।

प्रदेश अधिवेशनमा १ हजार १५० भन्दा बढी प्रतिनिधि छन् । उनीहरू सर्वसम्मत चुनिएर आएका हुन् ।

पोखरेल र पौडेल गुट

एमालेमा मुख्य रूपमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट सक्रिय छ । पौडेल र पोखरेल दुवै परम्परागत ओली गुटका नेता हुन् । तर, ओलीको बढ्ता झुकाव पोखरेलतिर रहेको एमाले नेताहरू बताउँछन् ।

बागमती प्रदेशमा पनि यी दुई गुटबीच प्रतिस्पर्धा हुने देखिन्छ । यी दुवै गुटबीच लुम्बिनी प्रदेशको अधिवेशनमा पनि प्रतिस्पर्धा भयो । लुम्बिनीमा पौडेल गुटले लगभग पदाधिकारीमा एक जना छोडेर सबैमा जित निकालेको थियो । बागमती प्रदेशमा पनि त्यही गुटगत प्रतिस्पर्धाको पुनरावृत्ति देखिने भएको हो ।

ओलीले उद्घाटन सम्बोधनमा एमाले विभाजन गर्न र कमजोर पार्न गुट भएको समाचार आएको टिप्पणी गरे पनि बागमतीमा उनले नै गुटलाई महत्त्व दिएको एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन् ।

‘अध्यक्षले नै एक जना बोकेर हिँडेपछि अर्कोले गुट बनाउन पाइँदैन भन्नु गलत हो । अध्यक्षको नै गुट छ । जुन कुरा लुम्बिनीको अधिवेशनमा पनि देखियो,’ ती नेताले भने, ‘बागमतीमा पनि देखिएको छ । गुट छैन भन्नु त बाहिर देखाउनलाई हो ।’

पोखरेल भने ढुंगेललाई अध्यक्ष बनाउन लागिपरेका र त्यसमा ओलीको पनि सहयोग रहेको एमाले नेताहरू बताउँछन् । पोखरेल त्यसकाे माहाेल बनाउन सक्रिय रहेको उनको भनाइ छ ।

ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजनामन्त्री थिए । रामेछाप जिल्ला कमिटीमा तीनपटक पार्टी अध्यक्ष बनेका थिए । अहिले उनी केन्द्रीय सदस्य छन् । उनी २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएका थिए । उनी संघीय संसदको निर्वाचनमा भने चारपटक हारेका थिए ।

यसबारेमा पोखरेलले पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटासँग पनि छलफल गरेका छन् । तर, बास्कोटाबाट पोखरेलले ग्रिन सिग्नल भने पाउन नसकेको बताइएको छ ।

एमालेमा बास्कोटा पौडेलनिकट मानिन्छन् । पौडेल गुटबाट दाहाल अध्यक्षका दाबेदार हुन् । पौडेल र बास्कोटा दाहाललाई अध्यक्ष बनाउन सक्रिय छन् । दाहाल मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । २०५१ सालमा कमल थापासँग चुनाव हारे पनि अरु चुनाव जितेका थिए ।

दाहाल प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अर्थ समितिको सभापति थिए । भूगोलमा राम्रो छवि बनाएका दाहाललाई अध्यक्ष बनाउन पौडेल र बास्कोटा सक्रिय रूपमा लागेका छन् ।

बास्कोटा र बस्नेत गुट सक्रिय

एमालेमा केन्द्रमा मात्र होइन प्रदेश प्रदेशमा केन्द्रीय नेताहरूका गुट पनि सक्रिय छन् । बागमती प्रदेशमा दुई जना पोलिटब्युरो सदस्यका पनि दुई गुट सक्रिय छन् ।

पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले बागमती प्रदेशमा आ–आफ्ना गुट चलाइरहेका छन् । यो अधिवेशनमा यी दुई नेताका गुटको प्रभाव पर्ने छ । दुई नेताले फरक फरक नेताहरूलाई समर्थन गरेका छन् । बास्कोटाले उपाध्यक्ष पौडेलको गुटलाई समर्थन गरेका छन् । बस्नेतले महासचिवको गुटलाई समर्थन गरेका छन् ।

त्यही भएर महासचिव पोखरेलले केही दिन पहिला बास्कोटासँग छलफल गरेका थिए ।

अझ रोचक त के छ भने यी दुई पोलिटब्युरो सदस्यहरू केन्द्रमा पौडेल निकट मानिन्छन् । तर प्रदेशको राजनीतिमा आफ्नै स्वार्थका कारण दुई नेताहरू दुई तर्फ विभाजन भएका छन् । बस्नेत बास्कोटाका कारण पोखरेलतर्फ लागेका एक नेता बताउँछन् ।

बास्कोटाले दाहाललाई समर्थन गरेका छन् । यो पक्षले सचिवमा भने सिन्धुपाल्चोकका सुवास कर्माचार्यलाई मैदानमा उतार्ने तयारी गरेका छन् । कर्माचार्यलाई नेकपा एसबाट सचिव बनाउने बचन दिएर एमालेमा फिर्ता ल्याएको चर्चा छ । कर्माचार्यलाई एमालेमा फर्काउनमा बास्कोटाको महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यही भएर पनि बास्कोटा अध्यक्षमा दाहाल र सचिवमा कर्माचार्यलाई नेतृत्वमा ल्याउन चाहन्छन् ।

बस्नेतले गुट परिवर्तन गरेपछि उनी ढुंगेललाई अध्यक्ष बनाउने पक्ष छन् । ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा आकांक्षी रहेका बताइन्छ । महासचिव पोखरेल ढुङ्गेलको विकल्प खोज्नु परेमा चितवनका कृष्णभक्त पोखरेल अगाडि सार्ने रणनीतिमा देखिन्छन् ।

बागमतीमा १० बुँदे खेमाका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे निकट मानिन्छन् पोखरेल । त्याे समूहकाे प्रतिनिधित्व हुने गरी पोखरेल ल्याउने तर पौडेलले समर्थन गरेका दाहाललाई रोक्ने रणनीतिमा महासचिव पोखरेल देखिन्छन् । त्यसमा अध्यक्षा ओलीकाे पनि संकेत रहेकाे एमाले नेताहरू दाबी गर्छन् ।

तर, बालकाेटनिकट स्राेत भने ओलीले पाेखरेललाई कुनै आश्वासन नदिएकाे बताउँछ । पाेखरेल स्वयं पनि सर्वसम्मत हुने भए मात्र अध्यक्ष हुने मुडमा छन् । उपाध्यक्षद्वय शाक्य र पाण्डेकाे साथले चुनाव  जितिन्न भन्ने उनले बुझेका छन् । प्रदेश अध्यक्ष फुत्किए केन्द्रीय सदस्य मनाेनित हुने आशामा उनी छन् ।

अध्यक्षकै लागि अहिलेका प्रदेश अध्यक्ष पाण्डे पनि आकांक्षी छन् । तर, मैदानमा केन्द्रीय नेताहरू नै उत्रेपछि उनलाई दुवै गुटबाट समर्थन नरहेको बताइन्छ । चुनाव भएमा दाहाल, ढुङ्गेल र पोखरेलबीच हुने सम्भावना देखिन्छ ।

आज बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधि विवादका कारण दिउसो ढीलो गरी सुरु भएको छ । नेताहरूले सर्वसम्मतको रट लगाए पनि त्यस्तो नहुने देखिन्छ ।

बन्दसत्र हलमा निर्वाचन मण्डल गठन भएको छ । प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरिएको छ । बराल ओलीनिकट हुन् । उनले बागमती प्रदेशमा आफ्नो प्रभाव तलसम्म पार्न झापाका बराललाई इन्चार्ज बनाएको एक केन्द्रीय नेता बताउँछन् ।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत सहमतिको अधिकतम् कोशिस भइरहेको र हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने बताउँछन् । ‘नेतृत्वले प्यानल बनाउन रोकेको हो । सकेसम्म सहमति होस् भनेको हो । हुन नसके निर्वाचनको बाटो छँदैछ,’ उनले शिलापत्रसँग भने, ‘चुनाव हुँदा एक्लाएक्लै लड्ने भनिएको हो । पोखरेल वा पौडेल समूह भन्ने छैन । अध्यक्ष कमरेडले पनि कसैलाई संकेत गर्नुभएको छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*