मकवानपुरमा किशोरावस्थामै विवाह, बन्नै सकेन सामाजिक जीवन

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–५ की सविना राई अचेल आफ्नो समकक्षि साथिलाई खुब संझन्छिन् । उनका साथिहरु विभिन्न पद/ ओहादामा छन् । याद आउँदा सम्पर्क गर्दा समेत मज्जाले गफिने समय पनि हुन्न ति साथिहरुलाई । जतिबेला उनी आफ्नो दौतरीबीच कक्षामा अब्बल थिइन् । सबैले उज्वल भविष्य देखेका सविनाको दैनिकी उनका श्रीमान्ले निर्धारण गर्छन् अहिले ।
चाडपर्व आउँदा घरमा के बनाएर खुवाउने, कसलाई कति दक्षिणा दिने, लुगाफाटोहरु कस्ता किन्ने ? छोराछोरीलाई कुन स्कुलमा पढाउने ? सबै निर्णय उनका श्रीमान कृृष्ण राईले नै गर्छन् । सविना बस् कृष्णको निर्णयलाई कार्यान्वयनमा सघाउँछिन् । उनी आफैं बिरामी पर्दा समेत कुन अस्पताल जाने र कहिले जाने निर्णय पनि श्रीमान् नै गर्छन् । ‘सबै निर्णय उहाँ कै हो, म त उहाँले भने बमोजिम गर्छु’ सविना भन्छिन् ‘उहाँ र बुबा(ससुरा)ले भने अनुसारको काम गर्नेमात्रै मेरो जिम्मेवारी जस्तै बनेको छ ।’
६ कक्षा पढ्दापढ्दै प्रेम विवाह गरेकी सविनालाई अहिले सार्वजनिक जीवनमा देखापर्ने र केही गर्ने सपनाले घोच्न थालेको छ । ‘मेरै उमेरका साथिहरु अहिले वडाका सदस्य बने, मैसंगै स्कुलमा पढ्नेहरु सरकारी जागिरे छन्’ सविना भन्छिन् ‘चाडो बिहे गरेकै कारण अन्जानमै व्यवहारमा फसियो, अहिले यता न उता ।’ चाँडो विवाह गरेको कारण श्रीमान्ले भन्दा आफूले भविष्यको धेरै योजनाहरु गुमाउनु परेकोमा उनलाई पछुतो छ ।
‘बालबच्चा, श्रीमान् सासु ससुराभन्दै आधा उमेर गो, अब केरुं रु’ उनले भनिन् ‘उबेला सोच आएन अहिले न घरैमा मेरो निर्णय चल्छ, न समाजमा ।’ ४१ वर्षिय सविनाको ४ सन्तान छन् । खेतिपाति र घरेलु काम उनको दैनिक हो । चाडपर्वमा माइति मावला जाँदा पुराना साथिहरु भेटिन्छन् । उनीहरुको फराकिलो चिनारी सुन्दा सविनाको मन कताकता कुडिन्छ । ‘आफूलाई चिन्ने केही छैन, साथिहरुको सार्वजनिक जिन्दगीको चर्चा सुनेर त्यसैमा रमाउने गर्छु, आफ्नै कर्म हो भन्ने लाग्छ ।’
हेटौंडा–६ की सान्ननी देवकोटाको सपना पनि साकार बन्न सकेनन् । पढ्ने र सार्वजनिक प्रशासन सेवामा प्रवेश गर्ने उनको सपना थियो । साथिहरु धेरैजसो विभिन्न कार्यालयमा शाखा अधिकृत तथा कार्यालय प्रमुखको पदमा छन् । सानै उमेरमा विवाह भयो, प्रगतिमा पूर्ण विराम लाग्यो ।‘जता अगाडि बढ्न चाहेपनि शिक्षाकै कारण खुट्टा तानिने रहेछ, पढ्ने उमेरमा विवाह भयो’ उनले भनिन् ‘न त सोचे अनुसार सार्वजनिक प्रशासनतर्फ लाग्न सकियो न त सामाजिक काममा अगाडि बढ्न सकियो ।’ पढ्ने, नेतृत्व क्षमता बढाउँने तथा अवसर लिने उमेरमा बालबच्चा हुर्काउनतिर लाग्नु परेको कारण आफू पछाडी परेको सान्नानीको बुझाई छ ।
शैक्षिक ज्ञानको कमी भएपनि केही कुखुरा र गाई पालेकी छिन् सान्नानीले । मासुको लागि कुखुरा बिक्री हुन्छ । अण्डा तथा कुखुराको मल पनि विक्रि हुन्छ । गाईको दुध, दहि, घिउ तथा मल पनि विक्रि हुन्छ । तर सान्नानीलाई के कसरी कुल मुल्यमा कहाँ, कहिले विक्रि हुन्छ पत्तो हुन्न । ‘सबै बिक्रि गर्ने काम श्रीमान्को निर्णय अनुसार हुन्छ, मैले त तयार पारिदिने मात्रै हो’ उनि भन्छिन् ‘घर व्यवहारको सबै निर्णय श्रीमान्ले नै गर्नुहुन्छ, उहाँकै योजना अनुसार सबै गर्छु ।’
हेटौंडा उपमहानगरपालिका–२ कि गायत्री दाहालको पनि दैनिक प्रायः उस्तै हुन्छ । घरको सरसफाई, भातभन्छा र अतिथि सत्कार यस्तै यस्तै । मकवानपुर गढी गाउँपालिका–५ (साविक आभमञ्जाड्ड गाविस–३) धादिड्डको शारदा माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत रहदै गर्दा १५ वर्षको उमेरमा विवाह भयो गायत्रीको ।
आफ्नो भविष्यको कुनै योजना बनाउने सोच नै आएको थिएन । विवाहपछिको आफ्नो जिम्मेवारी के हो ? कर्तव्य के हो ? भन्ने थाहै थिएन । विवाहको एक वर्षपछि आमा बनिन् उनी । ‘भविष्यको योजना बनाउन सक्ने कहाँ भएको थिए र ?’ गायत्री भन्छिन् ’समस्या आइपर्दै गए, समाधान जसोतसो गर्दै गरियो । अहिलेसम्म उसैगरी चल्दै आएको छ ।’ श्रीमान विष्णु दाहाल सवारी चालक । संधै घरमा बस्न पनि नभ्याउने, घरपरिवारमा अह्राउने सिकाउने कोही थिएनन् । १६ वर्षको उमेरमा आमा भएकी गायत्री सुत्केरी अवस्थाको पीडादायि दैनिकी अझै सम्झन्छिन् । १६ वर्षको उमेरमा पहिलो पटक आमा बनेकी गायत्रीले १९ वर्ष र २१ वर्षमा अर्को २ वटा सन्तानलाई जन्म दिइन् । उनीहरुकै रेखदेख र पालनपोषणमा दिनहरु बित्दै आए ।
आफ्नो जीवनको नौरड्डी सपना कहिल्यै बन्नु भ्याइनन् उनले । ‘सन्तान र श्रीमान्को रेखदेख, उनीहरुको चासो र चिन्ता गर्दा गर्दै अब ४७ औं वसन्तमा लागिन् गायत्री । ‘श्रीमानकै आम्दानीको भरमा छौं, म घर भित्रको जिम्मेवारी सम्हाल्छु, उहाँ बाहीरको’ गायत्री भन्छिन् ‘अलि ढीलो विवाह गरेको भए, पढन् पाइने थ्यो होला, पढेको भए केही त पक्कै गर्थे नै ।’ पढाई कम छ, रहर त छ नी केही गरेर देखाउने तर अब के गर्नु ।’ धेरै आटिली र हिम्मतवालि देखिने गायत्री पढाई कम भएकै कारण घरेलु काममा मात्रै सिमित हुन परेको बताउँछिन् । ‘अझैपनि जे आइपरे पनि गर्न सक्छु भन्ने लाग्छ, तर सबैभन्दा ठूलो हतियार भनेकै शैक्षिक दायरा रैच, त्यो आफ्नो कमजोर छ’ गायत्रीले भनिन् ।
हेटौंडा–१ कि कविता श्रेष्ठ र सुनिता खातिको दैनिकी पनि उस्तै छ । उनीहरुको पनि २० वर्ष उमेर नपूग्दै विवाह भएको थियो । कविताका २ र सुनिताका ३ सन्तान छन् । आफ्नो जिन्दगीको निर्णय आफ्नो हातमा हुँदोहो त कति खुल्ला जिन्दगी जिउन सकिन्थ्यो भन्ने उनीहरुलाई पनि लाग्ने गरेको छ । ‘सबैजसो निर्णय श्रीमानले गर्नुहुन्छ, उहाँको योजना अनुसार नै घरायसी काम गर्ने हो, कहिले काँही त दिक्क लाग्छ’ सुनिताले भनिन् ‘अब यसैमा बानि परीसक्यो ।’ आफ्नो सनोतिनो खर्चमा पनि श्रीमान्संग माग्नुपर्दा साह्रै नमज्जा लाग्ने बताउँछिन् कविता श्रेष्ठ । ‘जम्मा भएको पैसा त राख्न दिनुहुन्छ, तर खर्चको सबै हिसाब बुझाउनु पर्दा चै कहिलेकाही समस्या हुन्छ’ कविता भनिन्छन् ‘घरमा चाहिएको भन्दाबढी कहिकतै खर्च गरिदैन, कहिलेकाही खर्च गरेकै हिसाब विर्सिन्छ अनि समस्या ।’
कविता र सुनिता दुबैको १६ वर्षमा विवाह भएको थियो । उनीहरु ३२ र ३३ वर्ष भए । सामाजिक जीवनमा आउने रहर पनि विस्तारै हराउँदै आएको उनीहरु बताउँछन् । यो बीचमा उनीहरुका तत्कालिन समकक्षिहरुले धेरै मान–सम्मानजनक सार्वजनिक जिम्मेवारी बहन गरे । नामसंगै दाम पनि कमाए । संगै पारिवारिक जिम्मेवारी पनि निभाए । महिलाले सामाजिक जिम्मेवारीसंगै पारिवारिक जिम्मेवारी पनि बोक्नुपर्ने भएकोले स्वतन्त्र रुपमा पुरुष सरह अगाडी बढ्न समस्या भएको उनीहरुको बुझाई छ । सविना, सान्नानी, गायत्री, कविता, सुनिता प्रतिनिधि पात्र मात्रै हुन् । शिक्षा आर्जन गरेर जिन्दगीको आधार निर्माण गर्ने उमेरमा विवाह गरेपछि जीवनको महत्वपूर्ण पाटो नै छुटेजस्तो लाग्ने उनीहरुले बताए । ‘जब शिक्षा आर्जनको सवालमापछि परियो जीवनका हरेक निर्णयबाटपछि परिदों रहेछ, सविनाले भनिन् ।
जीवन नै साँघुरो लाग्छ
आफ्नो निजि जिन्दगीमा प्रत्यक्ष प्रभाव पार्ने कुराहरुमा पनि आफ्नो निर्णय नचल्दा जीवन नै साँघुरो लाग्ने गरेको बताउँछिन् सान्नानी । उनका ५ सन्तान छन् । ‘मेरो योजना यतिधेरै सन्तान पनि थिएनन्, श्रीमान र घरका अरु सदस्यहरुको योजना अनुसार मैले ५ जनालाई जन्म दिंए ’ उनले भनिन् । संविधानले महिलाको प्रजनन अधिकारलाई सुनिश्चित गरेको छ तर सान्नानीको हकमा यो निर्णय र तथा योजना स्वच्छिक बन्न सकेन । उनी मात्रै हैन, सविनाको पनि उस्तै भोगाई छ ।
व्यक्तित्व बनाउने उमेरमा विवाह गर्दा बाँकी सिड्डो जिन्दगानी नै साघुँरीने उनीहरुले बताए । ससुरा, जेठाजु तथा श्रीमान्को निर्णय हुँदै उनीहरुमाथि प्रत्यक्ष प्रभाव पार्ने कुरामा निर्णय गर्न आफ्नै छोराहरु आइपुग्छन् तर उनीहरु आफूभने कार्यान्वयनको पाटोमा कारिन्दा मात्रै । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनी शिक्षा लिने, व्यक्तित्व विकास गर्ने समयमा पछाडी पारिएका महिलालाई अगाडि ल्याउन धेरै समस्या हुने गरेको बताउँछिन् । परिवारमा श्रीमान्, छोराहरुको सकरात्मक साथबीन त्यस्ता महिलालाई सामाजिक जीवनमा ल्याउन समस्या हुने पुडासैनीले बताइन् ।
अझै धेरै पछुताउने छन्
शिक्षा आर्जनको समयमा विवाह गरेर जीवनको महत्वपूर्ण समय गुमाएका महिलाहरु मकवानपुर जिल्लामा कति छन् त्यसको तथ्याङ्क यकिन छैन । यद्यपि अझै पनि यस्ता महिलाहरुको सूचिभने लम्बिदो रहेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्की बताउँछन् ।
२० वर्षभन्दा कम उमेरको विवाह कानून विपरीत भनेर रोक्न खोज्नु नै शिक्षा आर्जन गरेर भविष्य सुनिश्चित पार्ने सरकारको योजना भएको उनले बताए । तर, हेटौंडा उपमहानगरपालिका भित्रै किशोरी आमाहरुको संङ्ख्या बढ्दो रहेको उनले बताए ।
आर्थिक वर्ष २०७५/ ०७६ मा हेटौंडा अस्पतालबाट सुत्केरी सेवा लिनेमध्ये १२ प्रतिशत किशोरीहरु रहेका बताइएको छ । यो तथ्याङकले हेटौंडा उपमहानगरपालिकाभित्र किशोरीहरू आमा बन्ने क्रम बढेको देखाएको छ । हेटौंडा अस्पतालका अनुसार आव ०७५/७६ मा २० वर्षमुनिका २९७ किशोरीहरु आमा बनेका छन् । उक्त वर्ष हेटौंडा अस्पतालमा २ हजार ४ सय ४२ जना सुत्केरी भएका थिए । यि सबै किशोरी आमाहरुको अध्ययन बीचैमा छुटेको छ । सामाजिक चिन्तनहरु,सिकाईहरु र गौरवपूर्ण तथा उदाहरणीय व्यक्तित्व बनाउने अवसर पनि उसैगरी छुटेका छन् । सार्वजनिक जीवन, जिम्मेवारी तथा निर्णयमा उनीहरुको पहुँच पुग्नै नसक्ने महिला अगुवाहरुको भोगाई छ । नेपाल न्युजबाट ।