मकवानपुरको नयाँ धार्मिक गन्तव्य बन्दै तपोवन

हेटौंडा–१९ चनौटा जंगलमा रहेको उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम पनि नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ।
सरिता दाहाल
४ भाद्र २०७६, बुधबार ०६:३२

हेटौंडा / मकवानपुरमा धार्मिक पर्यटनका हिसाबले थुप्रै स्थल विकास भईसकेका छन्, जसले पर्यटक आकर्षित गरिरहेका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौंडा–१९ सानान्टारस्थित चनौटा जंगलमा रहेको उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम पनि नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ।

५ वर्षअघि जंगलका ढुंगामा विभिन्न भगवानको आकृति भेटिएपछि यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो। उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धामको रुपमा प्रसिद्ध यो तीर्थस्थलको रुपमा विकास भएको छ । जंगलको बीचमा रहेको धाममा साउनको सोमबार दर्शनार्थीको विशेष भीड लाग्ने गर्छ भने विभिन्न चाडपर्व तथा विशेष अवसरमा तपोवनमा सर्वसाधारणको घुइँचो लाग्छ। तपोवनमा मकवानपुरलगायत आसपासका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

तपोवनको विकासका लागि उपमहानगरपालिका १९ नम्बर वडाले ८ लाख रुपैयाँ लगानीमा यो क्षेत्रलाई व्यवस्थित बनाएको छ। तपोवनसम्म पुग्ने बाटो निर्माण गरिएको छ। वडा कार्यालयले यो धामको विकासका लागि गुरुयोजना बनाएको छ । प्रदेश सरकारले पनि धामको विकासका लागि यो आर्थिक वर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको छ। आन्तरिक तथा बाह्य पर्यटक बढिरहेको जानकारी दिँदै वडाध्यक्ष नरनाथ सुवेदीले उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवनको विकासलाई विशेष प्राथमिकतामा राखिएको बताए।

स्थानीय हरिबहादुर अधिकारीको सपनामा सानान्टारको जंगलमा रहेको खोल्सामा विभिन्न भगवानको आकृति, नाग लगायतको शिला रहेको जानकारी आएपश्चात तपोवनको पत्ता लागेको बताइएको छ। स्थानीय र ब्राह्मणहरू मिलेर यस स्थलको नाम उमामहेश्वर निलकण्ठ ज्योर्तिलिङ धाम तपोवन स्थल राखिएको हो।

धार्मिक पर्यटनलई प्रर्बद्धन गर्दै आफ्नो कला संस्कृतिको जगेर्र्ना गर्ने र पर्यटक भित्र्याई समग्र मुलुकको विकास गर्ने लक्ष्य स्थानीय सरकारले समेत राखेको देखिन्छ। मकवानपुरको धार्मिक पर्यटनमध्ये यो धाम पनि आफ्नो छुट्टै अस्तित्व निर्माण गरिरहेको छ। ‘धर्ममा आस्था होस् वा नहोस् तर धर्मले मानवीय क्रियाकलाप नियन्त्रण गर्छ’, मकवानपुरको नयाँ धार्मिक गन्तव्य उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाममा भेटिएका रमेश घिमिरेले भने। धर्ममा आस्था राख्ने मात्रै हैन, नास्तिक हुँ भन्नेहरू पनि भेटिन्छन् यो धाममा। कारण हो पूजापाठसँगै यहाँको पर्यटकिय रमणीयता।

मकवानपुरको दक्षिणकाली मन्दिर, पाथिभारा माताको मन्दिर, त्रिखण्डी मन्दिर, वंशगोपाल मन्दिर, मनकामना मन्दिर, भुटनदेवी मन्दिर, कुस्माण्ड सरोवर, त्रिवेणी धाम आदि विशेष महत्व राख्ने र भक्तजनहरूको भीड लाग्ने धार्मिक पर्यटकीय स्थल हुन्। नेपाल न्युजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*