कथा गोर्खा सैनिकका संघर्षको, शुभकामना बेलायतका प्रधानमन्त्रीको
पहिलोपटक नेपाली चलचित्रको सफलताका लागि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुभकामना दिएका छन् । ब्रिटिस सैनिकमा रहेर दोस्रो विश्वयुद्धमा उत्रिएका बेलायती गोर्खा सैनिकको संघर्ष कथामा बनेको चलचित्र ‘गोर्खा वारियर’को सफलताका लागि प्रधानमन्त्री सुनकले शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री सुनकलाई अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डन रेककार्पेट प्रिमियरमा प्रमुख आतिथ्यका रूपमा निर्माता एवं निर्देशक मिलन चाम्सले निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री सुनकले तीन दिनअघि यस चलचित्रको प्रिमियर सफिलताका लागि निर्माण टिमलाई शुभकामना दिएका हुन् । उनको शुभकामनाले आफूहरू निकै उत्साहित भएको निर्देशक चाम्सले बताए ।
हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा आज शनिबार चलचित्र गोर्खा वारियरको रेड कार्पेट प्रिमियर हुँदै छ । सोही समारोहमा प्रधानमन्त्री सुनकलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा गरिएको हो ।
गोर्खा वारियरको रेड कार्पेट प्रिमियरका लागि विगत दुई सातादेखि बेलायतमा तयारी गरिरहेका निर्माता निर्देशक चाम्सले भने, ‘हामी १० सेप्टेम्बरमा यहाँको आइम्याक्स सिनेवल्र्डमा गोर्खा वारियरको प्रिमियरको पूर्ण तयारीमा छौं । यो प्रिमियरमा सहभागी हुन हामीले बोलाएका पाहुना देशविदेशबाट धमाधम यहाँ आइरहनुभएको छ, शनिबार बिहानसम्म उहाँहरू सबै आइपुग्नु हुनेछ ।’
उनले अगाडि थपे, ‘यस प्रिमियरका लागि नेपालबाट यस चलचित्रका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सम्बन्धित संघसंस्थाका पदाधिकारी एवं डिप्लोम्याट्स पनि बेलायततर्फ उडिसक्नुभएको छ ।’
यो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली चलचित्र विश्वमा चिनाउने र नेपाली चलचित्रको बजार विश्वव्यापी रूपमा विस्तार हुनेमा आफूहरू विश्वस्त रहेको पनि उनले बताएका छन् ।
उता सो रेड कार्पेट प्रिमियरका लागि यो चलचित्र बेलायतमा सेन्सर पास भएको छ । यो चलचित्रले बेलायतमा प्रदर्शन गर्दा १५ वर्ष वा सोभन्दा माथिका उमेर समूहले हेर्न पाउने सेन्सर सर्टिफिकेट बेलायतको फिल्म सेन्सर बोर्डबाट पाएको छ । निर्माता निर्देशक मिलन चाम्सले सो सेन्सर’दयगत भने, ‘हाम्रो चलचित्र युद्धकथामा आधारित रहेको छ र गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो चलचित्रमा गोर्खालीहरूले मलाया युद्धमा सफलता हासिल गरेका दृश्य समेटिएको छ । युद्धका दृश्यहरू भएकै कारण १५ वर्षभन्दा माथिका दर्शकले हेर्न मिल्नेगरी गोर्खा वारियरलाई सेन्सर पासको सर्टिफिकेट दिइएको हो ।’
फिल्म बेलायतको समयअनुसार शनिबार मध्याह्न १२ बजेबाट लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा प्रिमियर कार्यक्रम सुरु हुने भएको छ । प्रिमियरमा रेडक कार्पेट सो तथा ब्यान्ड सो १ घन्टाको फिल्म प्रदर्शनी ३ घण्टाको हुनेछ । अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरमा यसपटक हलिउडका सेलिब्रेटीदेखि बेलायत तथा नेपालका सेलिब्रेटीसमेत सहभागी हुँदै छन् ।
बेलायतका राजपरिवार, सरकारी तथा कूटनीतिक नियोगका विशिष्ट व्यक्तित्व, ब्रिटिस सेनाका अफिसर, त्यहाँ रहेका विभिन्न नेपाली नियोग तथा संघसंस्थाका पदाधिकारी पनि रेड कार्पेट प्रिमियरमा विशिष्ट अतिथिका रूपमा सहभागी हुने भएका छन् । यो प्रिमियरका लागि लन्डनको महानगर प्रहरीले सुरक्षा दिने भएको छ । गोर्खा वारियरको ऐतिहासिक रेड कार्पेट प्रिमियरको सम्पूर्ण टिकेट गत साता नै बिक्री भइसकेको छ । अझै थुप्रै प्रिमियर सो बेलायतमा राख्न उच्च माग आएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।
गोर्खा वारियर प्रिमियर तयारीको समाचारलाई कैयौं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उच्च महत्वका साथ प्रकाशन प्रसारण गरेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन् ।
यो चलचित्रको अन्तर्राष्ट्रिय प्रिमियरका लागि नेपाल तथा बेलायतमा रहेको विभिन्न संघसंस्थाबाट धमाधम शुभकामना प्राप्त भएको पनि चाम्सले बताएका छन् । उनले भने, ‘यो शुभकामनाले हामीलाई अझ धेरै हौसला थपेको छ र हामी नेपालीको शिर उच्च बनाउने अभियानमा सफल भइरहेका छौं ।’
उनका अनुसार यो चलचित्रको सफलताका लागि नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज तथा बेलायतमा रहेको विभिन्न संघसंस्थाबाट सफलताको शुभकामना प्राप्त भएको छ ।
यो चलचित्रमा रितेश चाम्सले अभिनेताका रूपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र गोर्खा वारियार नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहासिक प्रिमियरपछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै, कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।
गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।






