अनेमसंघ (क्रान्तिकारी) हेटौंडाका अध्यक्ष पाण्डे एमाले प्रवेश
हेटौंडा । नेकपा माओवादी (केन्द्र) निकट अनेमसंघ (क्रान्तिकारी)को हेटौंडा उपमहानगर अध्यक्ष तथा माओवादी पार्टी मकवानपुरको जिल्ला सचिवालय सदस्य नमुना पाण्डे एमालेमा प्रवेश गर्नु भएको छ ।
आजबाट औपचारिक रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो । एमालेका केन्द्रीय तथा मकवानपुरका नेताहरुसंगको भेटघाटका क्रममा उहाँले पार्टी प्रवेश गर्नु भएको हो ।

यसैगरी नेकपा एमाले मनहरी गाउँपालिका सचिवालय सदस्य चतुराम मोक्तान तथा एमाले मनहरी गाउँपालिका वडा नंबर २ का उपसचिव रविन्द्रबहादुर डिम्डुङले आफुहरुलाई झुक्याईएर कांग्रेस प्रवेश गराईएको भन्दै आपत्ती प्रकट गरेका छन् । आज एमाले मकवानपुर पार्टी कार्यालय पुगेर उनिहरुले विद्यालयको विषयमा छलफलको लागि बोलाएर एक्कासी खादा लगाउँदै पार्टी प्रवेश गरेको भन्ने हल्ला गरेको दुबैजनाको आरोप रहेको छ ।
प्रदेशसभा सांसद इन्द्रबहादुर बानीयाँले सांसद विकास कोष मार्फत विद्यालयलाई सहयोग गर्नेगरि छलफल गर्न भनेर आफुहरुलाई बोलाएर झुक्याएर पार्टी प्रवेशको हल्ला फिँजाईएको प्रति दुबैजनाले आपत्ती जनाएका छन् ।
दुबैजनाले प्रेस विज्ञप्ती जारी गर्दै आफुहरु एमालेको अभियानमानै रहेको र कांग्रेस प्रवेशको हल्ला भ्रम रहेको बताएका हुन् ।






