सूचनाको हकको बारेमा कानुनका विद्यार्थीसँग अन्तरक्रिया

हेटौँडा । सूचनाको हकको बारेमा कानुनका विद्यार्थीलाई जानकारी गराइएको छ । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई फ्रिडम फोरमको संयोजनमा मङ्गलबार सूचनाको हक सम्बन्धी ऐन २०६४ को बारेमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्थाहरुको बारेमा जानकारी गराइएको हो । नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई सुनिश्चित गर्न २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन ल्याइएको थियो । तत्कालीन व्यवस्थापिका संसदबाट पारित भई २०६४ साउन ५ मा प्रमाणीकरण र २०६४ भदौ ३ गतेदेखि यो ऐन कार्यान्वयनमा आएको थियो । ऐन कार्यान्वयनमा आएको दिनको अवसरमा पारेर आयोजित कार्यक्रममा फ्रिडम फोरमका प्रतिनिधि राममणि दाहालले सहजीकरण गर्नु भएको थियो । फ्रिडम फोरमले निर्माण गरेको सूचनाको हकसम्बन्धी आरटीआइ नेपाल एप (एप्लिकेसन) का बारेमा फ्रिडम फोरमका प्रतिनिधि दाहालले जानकारी गराउँदै लामो संघर्ष र दवावपछि बनेको सूचनाको हक सम्बन्धी ऐनले नागरिकको सूचना पाउने र माग्ने अधिकारलाई सुनिश्चत गरेको बताउनुभयो ।
सूचनाको हकको विगत, उपयोगिता, आवश्यकता, ऐनमा भएका व्यवस्था र आरटीआइ नेपाल एप्लिकेसनको प्रयोगको बारेमा जानकारी गराउँदै उहाँले सूचनाको हकको प्रयोग गर्ने संस्कृतिको विकासमा जोड दिनुभयो । सिद्धार्थ माध्यामिक विद्यालयको कक्षा ११ र १२ का संयोजक गणेश हुमागाईँले सूचनाको हकसम्बन्धी कानुन सबैको लागि आवश्यक भएको भन्दै सुशासनका लागि प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । कानुन संकायका विद्यार्थी मन्दिरा थापाले नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको बताउँदै सूचनाको हक विनाको लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो । कार्यक्रममा सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । फ्रिडम फोरमले लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, दण्डहीनता विरुद्ध, सूचनाको हकलगायतका क्षेत्रमा वकालती र अभियान सञ्चालन गर्दै आएको छ ।