नेपालको रियालिटी शोमा करोड पुरस्कार जित्ने थाइल्यान्डकी खुशी (भिडिओ)

६ पुस्ताअघि म्यानमार हुँदै थाइल्यान्ड पुगेको थियो उनको परिवार
जनपत्र
११ भाद्र २०८०, सोमबार ०८:१६

नेपालको रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ थाइल्यान्डकी खुशी कार्कीले जितेकी छिन्। गत शनिबार उनले यो प्रतियोगीता जितेकी हुन्।

थाइल्यान्डमै जन्मेकी १९ वर्षीया खुशीलाई सानैदेखि नृत्यमा रूची थियो। त्यसैले उनी भारतका विभिन्न डान्स रियालिटी शोका भिडिओहरू हेर्थिन् र नाच्न सिक्थिन्।

‘मलाई नाच्न एकदमै रमाइलो लाग्‍थ्यो,’ उनले भनिन्, ‘सानैदेखि स्कुलमा नाच्ने गर्थें। त्यसरी नै बिस्तारै थाइ नेपाली संघले आयोजना गर्ने हरेक कार्यक्रममा आफ्नो प्रस्तुति दिन थालें।’

अन्तर्राष्ट्रिय व्यापारमा स्नातक गरिरहेकी खुशीले मेरो डान्स युनिभर्सको पहिलो अडिसन थाइल्यान्डमा हुँदैछ भन्ने थाहा पाएकी थिइन्। तर नृत्यभन्दा पढाइलाई ध्यान दिनुपर्छ भन्ने साचेर अडिसन दिन चाहिनन्।

‘मलाई पढाइमै फोकस हुनुपर्छ भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर आमाबुबाले अनुभव लिनको लागि भए पनि एकचोटी अडिसन देऊ भन्नुभयो।’

थाइल्यान्डको अडिसनमा उनीसहित सात जना छानिए। त्यसपछि नेपालमा अडिसन र मेघा अडिसन दिन काठमाडौं आइन्। यी दुबै अडिसनमा छानिएपछि डान्स युनिभर्समा आफ्नो यात्रा तय गर्दै अगाडि बढेर उनले उपाधि नै हात पारेकी हुन्। उपाधिसँगै उनले एक करोड रुपैयाँ पुरस्कार जितेकी छिन्।

यो अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार भएको पहिलो नेपाली रियालिटि शोसमेत हो।

जितेको केही रकम समाजसेवा गर्नुका साथै केही आफ्नो भविष्यको लागि राख्ने खुशीले बताइन्।

‘थाइल्यान्ड र म्यानम्यारको प्रतिनिधित्व गरी यहाँ आएर एकदमै खुसी लागिरहेको छ’, उनले भनिन्, ‘जितेको केही रकम थाइ नेपाली संघ, समता स्कुललाई दिनुका साथै आफ्नो परिवार र भविष्यका लागि राख्छु।’

हेर्नुहोस् पूरा भिडिओः

सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*