मकवानपुरमा गर्भपतन गराउन घरेलु विधि अपनाउँदा जीवनमरणको दोसाँधमा

संविधानले महिलाको प्रजनन अधिकार सुनिश्चित गरेको छ। तर सबैं महिलामा प्रजनन अधिकारको उपभोग सही तरिकाले पुग्न भने सकेको छैन।
यसको एउटा उदाहरण हो, महिलाले गराउने गर्भपतनपछिको समस्या। कानुनले गर्भपतनलाई मान्यता दिएपछि झनै महिलाको स्वास्थ्यमा समस्या आउने गरेको पाइएको छ।
गर्भपतनका लागि आफैंले अपनाएको घरेलु विधिको शिकार भएकी मकवानपुरकी एक महिला (नाम गोप्य) पछिल्लो २ सातादेखि भरतपुर अस्पतालमा जीवनमरणको दोसाँधमा छिन्।
‘स्वास्थ्य स्वयमसेविकाले भन्दाभन्दै मैले आफ्नै तरिका अपनाएँ, अहिले पछुतो लागिरहेको छ’, उनले भनिन्। महिलाको परिवार स्रोतका अनुसार उनले ४ महिना नाघेको गर्भपतनका लागि आफैंले औषधि किनेर खाएकी थिइन्। एकपटक खाएर गर्भपतन नभएपछि २ दिनपछि फेरि औषधि दोहो¥याएकी थिइन्। त्यसलगत्तै उनलाई लगातार रक्तस्राव भयो। अहिले उनी २ हप्तादेखि अस्पतालमा छिन्।
‘समस्या हुन्छ भन्ने सुनेको थिएँ तै पनि खाएँ, अहिले यहाँ रगत र स्लाइनसंगै चढाएर बसेको छु’ धीमा स्वरमा उनले भनिन्, ‘आफैंले कसैले औषधि नखाउन्, मेरै गति(अवस्था) हुन्छ।’
गर्भपतन परिवार नियोजनको विकल्प हैन। तर महिलाले सन्तानको रहर पुगेपछि थप सन्तानबोझ कम गर्न आफ्नै इच्छाले वा श्रीमान्को करमा गर्भपतन गर्ने गरेका छन्। जसका कारण बर्सेनी गर्भपतन गराउनेमध्ये ७ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ।
गर्भपतन गराउने महिलामध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको तथ्याङकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार प्रतिवर्ष देशमा ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेका छन्। तीमध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन्। सुरक्षित गर्भपतनबारे प्रचारप्रसार अभावका कारण यो चुनौती अझै पनि टड्कारो रहेको हो।
यी ५८ प्रतिशतमध्ये ७ प्रतिशत महिलाको त ज्यानै जाने गरेको तथ्याङकले देखाएको छ ।
मकवानपुरमा अघिल्लो वर्ष ८ सय ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। यसवर्ष जेठसम्ममात्रै १ हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ।
२०५९ मा नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो, त्यसयता गर्भपतनलाई महिला अधिकारसँग जोडेर वकालत गर्ने गरिए पनि यो महिलाको प्रजनन समस्याको रुपमा झन्झन् जकडिँदो रहेको जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवति पुडासैनीले बताइन्।
मुलुकी ऐनको ११ औ संसोधन गरिएपछि नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो । गर्भपतन सेवालाई सुचारु गर्न २०६० मा सुरक्षित गर्भपतन सेवा प्रक्रिया थालनी भएको थियो।
२०६० चैतदेखि प्रसुती गृह थापाथलीबाट नेपालमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको थियो। जिल्ला समन्वय समितिका उपप्रमुख पुडासैनी सुरक्षित गर्भपतनबारे महिला र पुरुषहरूलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्ने बताउँछिन्। सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आएमात्र सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न महिला सहजै स्वास्थ्यसंस्था आउने पुडासैनीको धारणा छ।
मकवानपुरमा सुचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी ३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन्।नेपाल न्युजबाट ।