एलन मस्क ‘सिरियस’ भएनन्, अब केज फाइट हुँदैनः मार्क जुकरबर्ग

जनपत्र
३० श्रावण २०८०, मंगलवार ०६:५८

 केही समयदेखि इन्टरनेटमा एलन मस्क र मार्क जुकरबर्गको केज फाइटको विषयले निकै चर्चा पाएको छ । दुवै युवा धनाढ्यहरूले एक-अर्कासँग भिड्न तयार भएको बताए पनि अन्ततः यो लडाइँ लगभग नहुने भएको छ ।

आइतबार जुकरबर्गले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्म थ्रेड्समा एक पोस्ट राख्दै यो विषय बन्द गर्नुपर्ने बताएका छन् । “एलन यो विषयमा गम्भीर छैनन् भन्ने कुरामा मलाई लाग्छ हामी सबै सहमत छौं,” उनले पोस्ट राख्दै भनेका छन्, “अब यो लडाइँको विषयबाट अघि बढ्नुपर्ने समय आएको छ ।”

आफूले वास्तविक समय दिएको र उक्त प्रतिस्पर्धाबाट उठेको रकम दिग्गज व्यक्तिका लागि परोपकारी काममा लगाउने निर्णय भइसकेको अवस्थामा मस्कले आलेटाले गरेर पन्छिन खोजेको जुकरबर्गको आरोप छ ।

“एलनले मिति कन्फर्म नै गरेनन्,” जुकरबर्ग अगाडि लेख्छन्, “त्यसपछि उनले आफ्नो शल्यक्रिया गर्नुपर्ने बताए । अनि अहिले आएर एक पटक प्राक्टिस राउन्ड गर्नुपर्ने भन्दैछन् ।”

यदि मस्क प्रतिस्पर्धाको मिति र आधिकारिक इभेन्टको बारेमा गम्भीर भएको भए उनले जसरी पनि आफूलाई भेटेर कुरा राख्न सक्ने जुकरबर्गको भनाइ छ । “अन्यथा अब अगाडि बढ्ने समय आएको छ । यो प्रतिस्पर्धालाई गम्भीरतापूर्वक लिने व्यक्तिसँग प्रतिस्पर्धा गर्नमा केन्द्रित हुँदैछु म,” उनले लेखे ।

जुकरबर्गले मस्कलाई २८ अगस्टमा प्रतिस्पर्धा गर्ने भनेको भए पनि उनले उक्त मितिलाई लिएर कुनै स्वीकारोक्ति देखाएनन् । यता मस्क भने उक्त प्रतिस्पर्धा एक्सबाट प्रत्यक्ष प्रसारण हुने बताउँदै आएका थिए । तर, पछिल्लो समय आफ्नो घाँटीको शल्यक्रिया गर्नुपर्ने भन्दै केज फाइटको मिति सर्न सक्ने मस्कले बताएका थिए ।

पछिल्लो समय मस्कले एक्समा जुकरबर्ग र आफूबीच भएको कुराकानीको स्क्रिनशट पोस्ट गरेका थिए । उनले मेसेज मार्फत जुकरबर्गलाई आधुनिक ब्रुसलीको संज्ञा दिँदै जसरी पनि जुकरबर्गले जित्ने बताएका थिए ।

जुकरबर्गले थ्रेड्समा राखेको पोस्टको स्क्रिनशट केही प्रयोगकर्ताले एक्समा शेयर गरेका छन् । त्यसमध्ये एश्ली सेन्ट क्लेयर नाम भएकी प्रयोगकर्ताले शेयर गरेको स्क्रिनशटको रिप्लाइमा मस्कले लेखेका छन्, “जुक चिकेन हो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*