शैक्षिक संस्था दर्ता अझै खुलेन

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले एक महिनादेखि रोकेको शैक्षिक संस्था दर्ताको अनुमति अझै खुलाएको छैन । मन्त्रालयले १ साउनमा सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्थाको अनुमति दिने प्रक्रिया स्थगित गरेको थियो ।
शैक्षिक परामर्श, पूर्व तयारी कक्षा र भाषा शिक्षणसम्बन्धी संस्था दर्ता गर्न अत्याधिक निवेदन परेको र सोको व्यवस्थापन गर्नुपर्ने भएकाले अनुमति स्थगित गरिएको मन्त्रालयको भनाइ छ । शैक्षिक परामर्श, पूर्वतयारी कक्षा र भाषा शिक्षण सञ्चालन गर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका ०७५ अनुसार मन्त्रालयसँग अनुमति लिनुपर्छ । मन्त्रालयले अनुमति लिन निवेदन दिएका संस्थाको प्रक्रिया अघि बढाइएको र केही समयभित्रै सुचारु गर्ने तयारी गरिएको जनाएको छ ।
करिब दुई सय निवेदन अलपत्र
मन्त्रालयले अनुमति नदिँदा अनुमति लिन चाहने करिब दुई सय संस्था अलपत्र परेका छन् । मन्त्रालयका उपसचिव खुबीराम अधिकारीले काठमाडौं उपत्यका, चितवन र मकवानपुर जिल्लाका धेरै शैक्षिक संस्थाले अनुमति माग्दै निवेदन दर्ता गराएको जानकारी दिए । उनले करिब २ सय निवेदनमाथि मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिए । अधिकारीले हाल निवेदन दर्ता भएका शैक्षिक संस्थालाई अनुमति दिएपछि पुनः सूचना जारी गरेर निवेदन माग गरिने बताए ।
हेटौँडामा करिब २ दर्जन बढी इन्टिच्युट, ट्युसन सेन्टर विनाअनुमति सञ्चालन भइरहेका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही अघि त्यस्ता संस्थामा तालाबन्दी गरेको थियो । तर, शिक्षा विकास समन्वय एकाइले प्रदेश मन्त्रालयबाट अनुमति लिने सहमतिमा ताला खोलिदिएपछि ती संस्थाले अनुमति लिन निवेदन दिएकाले संख्या बढेको हो ।
प्रशासनको निगरानी जारी
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विनाअनुमति सञ्चालन गरिएका संस्थामा सिल लगाएपछि सहमति भएको र सोहीबमोजिम सेवा प्रवाह भइरहेको दाबी गरे । सहमतिविपरीत काम भएको पाइए कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउने प्रजिअ तामाङले बताए । गैरसरकारी र व्यावसायिक प्रयोजनार्थ स्थापना गरिएका संस्था प्रदेश सरका अन्तर्गत दर्ता गर्नुपर्ने प्रावधानअनुसार प्रक्रिया अघि बढाउन प्रशासनबाट जानकारी दिने कार्य भइरहेको प्रजिअ तामाङले दाबी गरे । नयाँ पत्रिका दैनिकबाट ।