बीपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय

जनपत्र
६ श्रावण २०८०, शनिबार १४:२१

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बिपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङले आज ४१ औँ बिपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण पछि कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले बीपीलाई व्यक्ति होइन विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए ।

उनले बीपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । “बीपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरुले समेत बिपीको विचारलाई मान्ने गरेका छन्, तर बीपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ”, मुख्यमन्त्री पाण्डेयले भने, “उनले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आआफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ ।”

अब बीपीको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरुलाई मुख्यमन्त्रीले आग्रह गरे । उनले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए । कालिका मन्दिर परिसरमा ४१ औँ बीपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षका बिरुवा वृक्षरोपण गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*