विमानस्थल पुगेर गृहमन्त्रीले भने– कार्गो र भन्सारमा पनि प्रहरी राख्नुपर्ने देखियो

जनपत्र
५ श्रावण २०८०, शुक्रबार १३:४६

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लोपटक सार्वजनिक भएको सुन तस्करी प्रकरणको नेक्सस पत्ता लगाएर त्यसमा संलग्नलाई कारबाही गरिने बताएका छन्। शुक्रबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा निस्किएका गृहमन्त्री श्रेष्ठले अनुसन्धानमा कुनै दल वा नेताको दबाब आफूलाई स्वीकार नहुने बताए।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको सत्यतथ्य छानबिनका लागि जिम्मेवार निकायहरुलाई आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको पनि बताए।

‘यसको नेक्सस पत्ता लगाएर कारबाही हुन्छ। मैले सधैं भन्ने गरेको छु– यस्ता अपराधमा जो सुकै संलग्न भएको होस्। कारबाहीको दायरमा ल्याउनुपर्छ,’ श्रेष्ठले भने।

गृहमन्त्री श्रेष्ठले मंगलबार विमानस्थल भन्सार कार्यालयको बाहिरबाट बरामद भएको १०० किलो सुनका सन्दर्भमा अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र प्रहरीले त्यसमा सहयोग गर्ने बताए।

‘यो घटनामा जो सुकै संलग्न भएको भए पनि सरकारले उन्मुक्ति दिन सक्दैन। एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा भएको घटनाले देशको सुरक्षामा नै प्रश्न उठाएको छ,’ श्रेष्ठले भने।

गृहमन्त्री श्रेष्ठले सुन प्रकरणले केही प्रश्न समेत उठाएको र अब त्यसको पुनरावलोकन गर्ने समय आएको बताए।

‘विमानस्थलबाट यत्रो परिणाममा सुन पक्राउ पर्नुले देशको सार्वभौम सुरक्षा र हाम्रो निरगानीमा पनि प्रश्न उठाएको छ। यसले हामीले दिइरहेको सुरक्षा व्यवस्थामा पनि असर पारेको छ,’ श्रेष्ठले भने, ‘अपराध नियन्त्रणमा पनि चुनौती थपेको छ। यस्ता अपराधमा अन्तर्राष्ट्रियकरण हुँदै विमानस्थलको भन्सारमाथि प्रश्न उठाएको छ।’

उनले भन्सार र विमानस्थलको कार्गोमा नेपाल प्रहरीको उपस्थित हुनुपर्ने हो कि भन्ने आवश्यकता महसुस भएको बताए। यी स्थानमा प्रहरी राख्दा सहयोग हुने कुरा देखिएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

सुन कसरी विमानस्थलको एक्सरेमा देखिएन भनि सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्सारका अधिकारी मात्र स्क्रिनिङमा बस्ने र प्रहरी नहुने भएकाले यसमा धेरै आफूले भन्न नसक्ने बताए।

त्यस विषयमा अनुसन्धान टोलीले सत्यतथ्य जाँच गर्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ। सुन तस्करीमा मुख्य मान्छे सधैं फरार र भरिया मात्र समातिए निरु भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै श्रेष्ठले पक्राउ परेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान गरेर जरैसम्म पुग्नुपर्ने बताए। उनले यो प्रकारणबाट अव सिक्न जरुरी देखिएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*