सूचना प्रविधिको विकास र प्रयोग नेपालको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा

जनपत्र
३ श्रावण २०८०, बुधबार १६:४५

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिएको बताउनुभएको छ। बुधबार नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरसँगको शिष्टाचार भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक उल्लेख गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।

नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले कृषिमा यसको प्रयोग गर्न चाहिरहेको बताउनुभएको छ। पहिलेको तुलनामा सूचना प्रविधिको क्षेत्रमा नेपालले उल्लेख्य विकास गरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको प्राथमिकतामा राखिएको बताउनुभयो।

‘‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौँ कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो’, उहाँले भन्नुभयो, ‘‘डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ।’’

देशभर सूचना सञ्चारको पहुँच विस्तार तीव्र गतिमा भइरहेको उल्लेख गर्नुहुँदै उहाँले यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको जानकारी गराउनुभयो। इन्टनेटको फो–जी सेवा देशभर पुर्‍याउने कामलाई अन्तिम चरणमा पुर्‍याइएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले फाइभ(जी सेवा पनि परीक्षणका लागि क्रममा रहेको बताउनुभयो।

मन्त्री शर्माले नेपालले आफ्नै स्याटलाइट राख्ने सवाललाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सस्तो र गुणस्तरीय स्याटलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको सोच रहेको बताउनुभयो।

राजदूत गोडरले पछिल्लो समय नेपालले चाँडो चाँडो विकास गरिरहेको बताउनुभयो। आफू लामो समयदेखि नेपालमा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीव्र विकास गरिरहेको बताउनुभएको हो।

नेपालको एउटा प्रदेशको हाराहारीमा रहेको इजरायलले सूचना प्रविधिमा धेरै विकास गरेको औँल्याउँदै उहाँले सूचना र सञ्चारको क्षेत्रमा प्रभावकारी सेवा नभए अबका दिनमा विश्व समुदायमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहरेको बताउनुभयो।

नेपालमा धेरै हिमाली र पहाडी क्षेत्र भएकाले सबै ठाउँमा बराबरी सञ्चार सुविधा पुर्‍याउन कठिनाइ देखिएको उल्लेख गर्दै उहाँले नेपालले आफ्नै स्याटलाइट राख्न सकेको हकमा निकै प्रभावकारी हुने सुझाव दिनुभयो।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*