प्रशिक्षकले अवैध रकम असुलेपछि २२ खेलकुद संस्थालाई विवरण बुझाउन निर्देशन

पोखरा रंगशालामा खेलकुदको तालिम दिने प्रशिक्षक र प्राविधिक आधिकारिक भए÷नभएको जानकारी प्रमाणसहित दिन ३५ दिने सूचना जारी
जनपत्र
३ श्रावण २०८०, बुधबार ०७:१२

पोखरा रंगशालामा प्रशिक्षणका नाममा अवैध रूपमा रकम असुली गर्ने विभिन्न संघ तथा संस्थालाई आवश्यक विवरणसहित उपस्थित हुन जिल्ला खेलकुद विकास समिति कास्कीले निर्देशन दिएको छ । फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट, स्क्वास, लन टेनिस, कराँते र भारोत्तोलन संघका प्रशिक्षकले खेलकुद विकास समितिलाई जानकारी नै नदिई प्रशिक्षणका नाममा प्रशिक्षार्थीसँग मासिक दुईदेखि १० हजार रुपैयाँसम्म असुली गर्दै आइरहेको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको थियो । समाचार बाहिरिएसँगै खेलकुदका नाममा बढेको विकृति हटाउन समितिले ती संघहरूलाई पत्राचार गरेको हो । समितिले २२ खेल संघलाई पत्राचार गरेको छ ।

गण्डकी खेलकुद परिषद्ले अवैध रकम असुली नियन्त्रण गर्ने उद्देश्यसहित अघि बढेको जनाएको छ । प्रशिक्षणका नाममा प्रशिक्षकले ठगी धन्दा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले जिल्ला खेलकुद विकास समिति कास्कीलाई १५ दिनको समय दिएर एक साताअघि पत्राचार गरेको थियो । अख्तियारको पत्रपछि समितिले २२ खेल संघलाई पत्राचार गरेको हो । ‘अख्तियारको पत्रपछि रकम असुली गर्ने संघसँग आवश्यक विवरण मागेका छौँ,’ समितिका एक सदस्यले भने ।

विभिन्न खेलका प्रशिक्षकले प्रशिक्षार्थीसँग मासिक एक हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । अवैध रूपमा रकम असुली गर्न पदाधिकारी आफैँ संलग्न रहेको स्रोतले बताएको छ । ‘प्रशिक्षक स्वयंले संघको नाममा र केहीले स्वयंसेवक प्रशिक्षणको बहानामा खेलाडीबाट अवैध रूपमा शुल्क असुल गरेका पायौँ,’ स्रोतले भन्यो, ‘आश्चर्य त के रह्यो भने प्रशिक्षकले लिने गरेको हिसाब संघमा छैन ।’

अख्तियारले माग्यो विवरण
प्रशिक्षकले खेल संघलाई बुझाउनुपर्ने भन्दै प्रशिक्षार्थीसँग रकम लिने गरेका छन् । प्रत्येक महिना प्रशिक्षकले प्रशिक्षार्थीसँग रकम असुलेपछि अख्तियारमा उजुरी परेको हो । अख्तियारले सम्बन्धित निकायलाई पत्र काटेको छ । अख्तियारले रंगशाला परिसरमा अनियमित तरिकाले रकम असुल भएको हो वा होइन, प्रशिक्षण सञ्चालन गरिरहेका खेल संघ र प्रशिक्षकको वैधानिकतालगायत विषयमा आवश्यक जानकारीसँगै विवरण माग गरेको हो ।

पोखरा रंगशालामा आधिकारिक रूपमा रेफ्री, अम्पायर र प्राविधिक वास्तविक तथ्यांक संकलन गर्नका लागि ३५ दिने सूचना जारी गरिएको हो । परिषद्ले सोमबार २२ खेलका संघ तथा संस्थालाई विवरणसहित सूचीकृत हुन सूचना गरेको छ ।

परिषद्ले प्रदेशका आफ्नो मातहतमा रहेका ११ जिल्ला खेलकुद विकास समितिलाई सम्बन्धित खेलका पदाधिकारीको विवरण परिषद्मा पठाउन पत्राचार गरेको छ । खेल क्षेत्रमा प्रशिक्षणका नाममा विकृति बढेपछि नियन्त्रण गर्न पहिलो चरणमा सार्वजनिक सूचना जारी गरेको परिषद्ले जनाएको छ । परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशमा हुने हरेक खेललाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउने उद्देश्यसहित सरोकारवालालाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरेको बताएका छन् ।

‘हामीले प्रदेशमा खेलकुदका नाममा भइरहेका अनैतिक गतिविधि रोक्नका लागि सूचना जारी गरेका हौँ,’ उनले भने, ‘यसमा हामी कडाइका रूपमा अगाडि बढ्छौँ ।’ सूचीकरणपछि प्रदेशमा खेल सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति निर्धारण हुने विश्वास परिषद्को छ । ‘सबै प्राविधिक सूचीकृत भएपछि हामीसँग कति जनशक्ति छ भन्ने थाहा हुन्छ,’ शर्माले भने, ‘रेफ्री, अम्पायरसँगै खेल सञ्चालन गर्ने प्राविधिकको सूचीकरणपछि परिषद्ले छिट्टै खेल प्रशिक्षकको सूचीकरण प्रक्रिया अगाडि बढाइनेछ ।’

सबै प्रमाण आवश्यक पर्ने
सार्वजनिक सूचनापछि रेफ्री, अम्पायर, प्राविधिक तथा प्रशिक्षकले अहिलेसम्म आफूले प्राप्त गरेका शैक्षिक योग्यता र प्रशिक्षणसम्बन्धी लिएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै, राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको भए त्यसको प्रमाणस्वरूप प्रतिलिपि बुझाउनुपर्ने परिषद्ले जनाएको छ । ‘रेफ्री, अम्पायर र प्राविधिकले तालिम लिएको प्रमाणपत्र बुझाउनुपर्छ,’ ३५ दिने सूचनामा भनिएको छ, ‘यसमा प्रमाणपत्र नवीकरण भएको हुनुपर्छ ।’ यसैगरी, सम्बन्धित खेलको प्रदेशस्तरीय खेल संघको सिफारिसपत्र अनिवार्य राख्नुपर्नेछ । जिल्ला खेलकुद विकास समिति र प्रदेश खेल संघलाई समेत आवश्यक सहयोग गर्न परिषद्ले अनुरोध गरेको छ । नयाँपत्रिकादैनिकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*