विप्लवको गृहजिल्ला रोल्पामा सरकारी गाडी प्रतिबन्ध!

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने भएको छ। केही दिनअघि बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो। पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए। ‘पार्टीको यो निर्णयसँगै अब रोल्पा जिल्लाभर चल्ने सबै सरकारी गाडी आवतजावतमा प्रतिबन्ध लाग्छ,’ सेक्रेटरी मानवले भने।
पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा पनि शुद्धीकरण अभियान संचालन गरिने भएको छ। शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी सदस्यलाई करिब २ दर्जनमा झारिएको बताएको छ। शुद्धिकरण तल्लो कमिटीसम्म पुग्ने सो पार्टीको अर्का एक नेताले जानकारी दिए।
जिल्ला ईन्चार्ज जयप्रकाश रोका केही महिनाअघि पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउँमा सन्तोष सुवेदी प्रयासलाई जिम्मा दिएको बताइएको छ।