कांग्रेस बैठक प्रत्यक्ष प्रसारणको तयारी

जनपत्र
२ श्रावण २०८०, मंगलवार ०६:५९

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने प्रस्ताव राखेका छन् । कुनै पनि राष्ट्रिय दलले आन्तरिक बैठक लाइभ नगरेका बेला देउवाले पहिलोपल्ट यस्तो प्रस्ताव अघि सार्नुलाई कतिपय नेताले रणनीतिक योजना भन्दै अर्थपूर्ण रूपमा लिएका छन् ।

मंगलबारबाट हुने बैठकका एजेन्डामाथि छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको अनौपचारिक बैठकमा देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण पस्कँदै बैठक लाइभ गर्ने प्रस्ताव ल्याएका थिए । सभापति देउवाको प्रस्तावमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतको असहमति थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने लाइभ गर्दा सकारात्मक सन्देश नै जाने धारणा राखेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्माले अनौपचारिक बैठकमा सभापतिबाट आएको प्रस्तावका विषयमा व्यावहारिक पक्ष हेरेर मंगलबार मात्रै औपचारिक निर्णय गरिने कान्तिपुरलाई बताए । ‘छलफलका क्रममा सभापतिले लाइभ गरौं भन्नुभयो । त्यसमा कतिपयले हुन्छ र कतिपयले हुन्न भन्नुभएकाले यो विचाराधीनमै छ,’ शर्माले भने, ‘पार्टीको आन्तरिक बैठक लाइभ गर्दा त्यसको व्यावहारिक मर्यादालाई पनि हेरिनुपर्छ । परिपक्वता नहुने, पपुलिजमका कुरा मात्रै हुने अवस्था आउन सक्छ ।’

पदाधिकारी र पूर्वपदाधिकारीबीच मत बाझिए पनि देउवाको निर्देशनअनुसार पार्टीको केन्द्रीय कार्यालयका कर्मचारीले फेसबुक ‘लाइभ’ का लागि क्यामरालगायतको प्राविधिक प्रबन्ध गरिसकेका छन् । पार्टीभित्र संसदीय दल नेता परिवर्तन गर्ने एजेन्डा बनाएर महामन्त्री थापाले सार्वजनिक मञ्चहरूमै नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले त्यसको सामूहिक प्रतिवाद गर्ने योजना देउवाले बनाइरहेको कांग्रेसका एक पदाधिकारीले बताए ।

कांग्रेसले प्रधानमन्त्री पाउँदा देउवाको विकल्प खोज्नुपर्ने र त्यसका लागि सके आफैं सर्ने र नसके अर्कोलाई सार्ने थापाले बताउँदै आएका छन् । ती पदाधिकारीका अनुसार नक्कली भुटानी शरणार्थीर् प्रकरणमा मुछिएका पार्टीका नेता बालकृष्ण खाणको प्रतिरक्षा गर्ने योजनालाई थापाको प्रतिवादले अप्ठ्यारो बनाइरहेको विषय पनि जोडिएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका खाणलाई निलम्बन गर्न सभापति देउवा तयार नभएपछि महामन्त्री थापाले जेठ २ मा विज्ञप्ति निकालेका थिए, जसमा खाण निलम्बन हुनुपर्ने भनिएको विषय देउवालाई पचेको थिएन ।

सोमबारको बैठकमा पनि देउवाले खाणलाई निलम्बन गर्न परम्पराले नदिने बताएका थिए । ‘खाण दोषी ठहर भइसकेका छैनन्, अभियुक्त मात्रै हुन्, उनलाई कारबाही गर्ने परम्परा पनि छैन, छलफल गर्न सकिन्छ तर निलम्बन गर्ने विषय नउठाऔं भन्ने नै सभापतिज्यूको धारणा रह्यो,’ बैठकपछि अर्का एक पदाधिकारीले भने, ‘खाणलाई निलम्बन गर्ने हो भने भ्रष्टाचार आरोपमै मुद्दा खेपिरहेका अर्का नेता विजयकुमार गच्छदारको हकमा के गर्ने भन्ने प्रश्न पनि छ ।’

महामन्त्रीद्वय थापा र शर्माले असार २१ र २२ मा जिल्ला सभापतिहरूको बैठक राखेकामा पनि देउवाले गम्भीर असन्तुष्टि जनाएका छन् । पार्टी सदस्यता व्यवस्थापनको मुद्दामा दुई महामन्त्रीले काठमाडौंमा बोलाएको जिल्ला सभापतिहरूको बैठकमा देउवा उपस्थित थिएनन् । यी सबै विषयलाई केन्द्रमा राखेर प्रतिरक्षा गर्ने र महामन्त्री थापाको भूमिकाप्रति संगठित रूपमा विरोध गर्ने रणनीति बनाएरै देउवाले बैठक लाइभ गर्ने प्रस्ताव अघि सारेको संस्थापन इतरपक्षीय नेताहरूको बुझाइ छ ।

‘पार्टीमा महामन्त्री थापाको एजेन्डालाई कमजोर बनाउने रणनीति सभापतिज्यूले बनाएको बुझिन्छ तर बैठक लाइभ गरेर महामन्त्रीलाई ठीक लगाउन खोज्दा सभापतिलाई नै अप्ठ्यारो पर्न सक्छ,’ संस्थापन इतर पक्षका एक नेताले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई जोगाउनुपर्छ भनेर बोल्दै गर्दा आम जनमानसले त्यसको हिसाबकिताब राख्न पाउँछन् ।’

संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्की भने बैठक लाइभ गर्ने सभापतिको प्रस्तावमा कुनै रणनीतिक उद्देश्य नभएको दाबी गर्छन् । ‘कांग्रेसजस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीले बैठकलाई पारदर्शी बनाइदिँदा गलत सूचना जाने सम्भावना रहँदैन । पार्टी र समाज लाभान्वित नै हुन्छ,’ उनले भने, ‘व्याख्या, अपव्याख्या गरेर गलत सूचना जानुभन्दा लाइभबाट सही सूचना जानु नै राम्रो हुनेछ ।’

सहमहामन्त्री बद्री पाण्डेका अनुसार सभापति देउवाले लाइभ नगरे पनि सबै कुरा बाहिरिने गरेको र बाहिरी मुलुकमा पनि राजनीतिक दलका बैठक लाइभ हुने गरेको उल्लेख गरेका थिए । ‘प्रायः सभापतिज्यूले कुनै रणनीतिक उद्देश्य नराखी नयाँ कुरा ल्याउनु हुन्न । बैठक लाइभ गर्ने कुरा के उद्देश्यले ल्याउनुभयो, थाहा भएन,’ पाण्डेले भने, ‘पार्टीका कतिपय बैठक गोप्य हुन्छन् । आचारसंहिता हुन्छ । पार्टीको बैठक लाइभ गर्दा राष्ट्रिय राजनीतिको मुद्दामा कति निष्कर्षमा पुग्न सकिन्छ, भन्न सकिन्न ।’ केन्द्रीय सदस्य प्रदीप पौडेल भने बैठक लाइभ गर्ने कुरालाई सकारात्मक रूपमा लिन्छन् । ‘पार्टी पनि सार्वजनिक संस्था नै हो । पारदर्शी ढंगबाट चल्नुपर्छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*