आवश्यक संख्या पुगेको महसुस भएको दिन संसदीय दलको नेता परिवर्तन गरेर अघि बढ्ने गगनको दाबी
कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने स्पष्ट गर्नुभएको छ ।
विराटनगरमा शनिबार पत्रकारहरूसँगको भेटघाटमा महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने स्पष्ट गर्नुभएको हो ।
संसदीय दलको नेताका लागि मैले भिडेकै हो भन्दै थापाले पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास रहेको स्मरण गराउनु भयो । आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्ने थापाको भनाइ छ । तनहुँमा उपनिर्वाचन हारेको र मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले कांग्रेसमा ८७ सांसद छन् ।
साउन २ गतेबाट पार्टीको केन्द्रीय कार्यसमितिको सुरू हुने बैठक विधानअनुसार नियमित हुने थापाको दाबी छ । बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्छ र त्यसपछि व्यापक छलफल गरेर पार्टी अघि बढने थापाले बताउनु भयो ।
नीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्ने भन्दै थापाले पार्टीले चुनाव अगाडि गरेको गठबन्धनले देशको राजनीति गिजोलिएको र पार्टीहरू स्वतन्त्र रूपमा सोच्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । सीमित व्यक्तिको सल्लाहमा चलेकाले कोशी प्रदेश सरकारमा अप्ठेरो परिस्थिति आएको थापाले टिप्पणी गर्नुभयो ।






