एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ‘ए’ ले नेपाललाई ४ विकेटले हरायो

जनपत्र
२९ असार २०८०, शुक्रबार १६:४४

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ ले नेपाललाई ४ विकेटले हराएको छ । श्रीलङ्कामा चलिरहेको प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले ५१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए ।

नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।  अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन बनाए । गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमवार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएई ‘ए’ सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोलीकाे सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।  सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*