अर्थमन्त्रीकाे स्विकार- बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि सकिनँ

जनपत्र
२८ असार २०८०, बिहीबार १६:५८

अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको स्विकारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले सो कुरा स्विकारेका हुन् । तर, उनले आर्थिक अनुशासन कायम गरिने र त्यसमा कुनै आशङ्का नगर्नसमेत आग्रह गरे ।

बजेट कार्यान्वयमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उनको भनाइ छ ।

मन्त्री महतले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उल्लेख गरे । उनले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ राखे ।

मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नैपर्ने उल्लेख गर्दै उनले प्राकृतिक विपद्लगायतका कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

अर्थमन्त्री महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने बताए । आम्दानी नै कम भएकाले सङ्घीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उनको भनाइ छ । बेथितीका कारण जोडिँदै आएका समस्या समाधानका लागि आफूले इमान्दार प्रयास गरेको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*