चलचित्रमा देखिएको समस्या समधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा

जनपत्र
१७ असार २०८०, आईतवार ०६:१५

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताउनुभएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित २३औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सुन्दरता, संस्कृति र भौगोलिकतालाई चलचित्रमा समेट्न आग्रह गर्नुभयो ।

“अहिले प्रविधिको प्रयोगले प्रचार गर्नु जरुरी छ । हाम्रो कला र संस्कृतिसँगै देशमा भएका महत्त्वपूर्ण उपलब्धिलाई पनि विषय बनाउनु चलचित्रकर्मीको दायित्व पनि हो”, उहाँले भन्नुभयो, “अन्य माध्यमभन्दा चलचित्र निकै प्रभावकारी छ । यसबाट भन्न र दिन खोजेको सन्देशलाई सजिलै बुझाउन सकिन्छ । त्यसैले हाम्रो यथास्थितिसँगै उपलब्धिसमेत समेट्नुपर्छ ।”

उहाँले विसं २०२७ मै बनेको ऐनअनुसार चलचित्र क्षेत्र चलिरहँदा प्रविधिको विकाससँगै त्यसलाई फेरबदल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समीक्षा गरौँ, समस्याको पहिचान गरौँ । बोर्डसँगै चलचित्र क्षेत्रसँग जोडिएको सङ्घसंस्थाले हामीलाई मार्ग सुझाउनुहोस्, सरकार तपाईँसँगै छ ।” उहाँले नेपाल खुला स्टुडियो भएकाले सुन्दरताको प्रचार–प्रसार चलचित्र र प्रविधिका माध्यमले गर्न आग्रह गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा ‘कथा बैंक’ अन्तर्गत सात कथानक चलचित्र र छ लघुचलचित्रका लेखकलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै यसै वर्षदेखि सुरु गरिएको लघुचलचित्र प्रतियोगितामा सूर्य शाहीले निर्देशन गर्नुभएको ‘व्हिल्स अन द बस’ ९प्रथम०, मिङ्सो लिम्बूले निर्देशन गर्नुभएको ‘जुन्को’ ९दोस्रो० र किरण श्रेष्ठ र विभू पौडेलले संयुक्तरूपमा निर्देशन गर्नुभएको ‘एट अनोदर विन्टर’ ९तृतीय० पुरस्कार प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र नीतिसहितको विविध समस्यालाई समधान गर्न आफूहरू प्रक्रियागतरूपमा अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बोर्डले गरिरहेको कार्य र प्रयासको नतिजा केही समयपश्चात सबै थाहा पाउनुहुनेछ । हामीले नेपाली चलचित्र र चलचित्रकर्मीको हित हुने गरी ऐनमा छलफल गर्नुका साथै स्वदेशी चलचित्रलाई टेवा पुग्ने गरी विविध काम गरिरहेका छौँ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*