नेपालमा पास तर विदेशमा मेडिकल फेल भएका २२ हजार कामदारको उजुरी, सरकारको बेवास्ता
पर्फेक्ट डाइगोनिस्टिक सेन्टर प्रालिमा २०७१ सालमा स्वास्थ्य परीक्षण गराई रोजगारीका लागि कतार पुगेका रुद्रनारायण यादव (राहदानी नम्बर- २६८९८६६) को कतारमा पुगेर पुनः स्वास्थ्य जाँच गर्दा मेडिकल रिपोर्ट नेगेटिभ (फेल) आयो। उनी कतारस्थित विमानस्थलबाटै फिर्ता भए। मेडिकल फेल भएर कतारबाट फिर्ता आएका यादवले क्षतिपूर्तिको माग गर्दै प्रगतिशील स्वास्थ्य व्यवसायी संघमा उजुरी दिए। तर, उजुरी दिएको ५ वर्ष बितिसक्दा पनि यादवले क्षतिपूर्ति पाउन सकेका छैनन्।
यादव म्यानपावर कम्पनी सान नेपाल प्रालिमार्फत कतारको तड्मुर रुफ्स कम्पनीमा मजदुरी (लेवर) गर्नका लागि श्रम स्विकृति लिएर १५ डिसेम्बर २०१३ मा उडेका थिए। त्यस्तै, २०७२ मा रोजगारीका लागि मलेसिया पुगेका रामप्रकाश थारु (राहदानी नम्बर- ०७७५४०४७)को समस्या पनि उस्तै छ। नेपालबाट सबै प्रक्रिया पूरा भइसकेपछि मलेसियाका लागि २१ अप्रिल २०१५ मा उडेका थारु पनि यादवजस्तै गरी क्वालम्पुरस्थित विमानस्थलबाटै फर्काइए।
थारुले मध्यपश्चिम पोलिक्लिनिक प्रालिमार्फत स्वास्थ्य परीक्षण गराउँदा उनको मेडिकल रिपोर्ट पोजेटिभ (पास) आएको थियो। थारु मलेसियाको माइब्रस इन्डस्ट्रिज कम्पनीमा अपरेटरको पदमा काम गर्न त्यहाँ पुगेका थिए। यादव र थारुजस्तै यहाँबाट सम्पूर्ण प्रक्रिया पूरा गरी गन्तव्य मुलुक पुगी त्यहाँ पुनः स्वास्थ्य परीक्षण गराउँदा फेल भई फर्किएका २ सय ४४ जना युवाहरुले क्षतिपूर्तिको माग गर्दै प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चमा उजुरी दिएका छन्।