सातै प्रदेश सरकारबाट बाहिरियो एमाले

जनपत्र
१६ असार २०८०, शनिबार ०७:४३

कोशी प्रदेशसभामा शुक्रबार विश्वासको मत नपाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । योसँगै एमाले सातवटै प्रदेश सरकारबाट बाहिरिएको छ ।कार्की माओवादी, राप्रपा र जसपाको समर्थनमा गत पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनमा दमन गरेको भन्दै जसपाले जेठ १७ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको थियो । त्यसपछि माओवादीले पनि समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले विश्वासको मतका लागि बिहीबार प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए । प्रदेशसभा बैठकमा शुक्रबार भएको मतदानमा बहुमत प्राप्त गर्न नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।

९३ सदस्यीय प्रदेशसभामा उपस्थित ८९ सांसदमध्ये विश्वासको मत लिने प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ र विपक्षमा कांग्रेसका २८, माओवादीका ११ र एकीकृत समाजवादीका ४ गरी ४३ मत परेको थियो । उक्त प्रस्तावको मत विभाजन प्रक्रियामा कांग्रेस सांसद ममता तामाङ मगर, माओवादीका नारायण बुर्जा मगर र जसपाकी निर्मला लिम्बू सहभागी भएनन् । ममता र नारायणले प्रदेशसभाको उपस्थिति पुस्तिकामा हाजिर गरेर पनि मत विभाजन प्रक्रियामा सहभागी भएनन् भने जसपा कोशीले बिहीबारै विज्ञप्तिमार्फत विश्वासको मत लिने प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेकाले सांसद लिम्बू शुक्रबार अनुपस्थित भइन् ।

अब कसरी बन्छ नयाँ सरकार ?

गठबन्धन दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादीले दाबी गरिरहेका छन् तर नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन । गठबन्धनमा रहेकामध्ये ठूलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दबाब बढाइरहेको छ । सभामुख माओवादीको रहेकाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी कांग्रेसको छ ।

माओवादीभित्रको गुटबन्दीका कारण पनि सरकारको नेतृत्व कांग्रेसले पाउने सम्भावना रहेको एक प्रदेश सांसद बताउँछन् । माओवादीका सांसदमध्ये केही प्रधानमन्त्री पुष्पकमल दाहाल, केही जनार्दन शर्मा र वर्षमान पुननिकट छन् । प्रधानमन्त्रीनिकट सांसदहरू सभामुख छाडेर शर्मानिकट रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बन्ने बाटो खोल्न तयार नरहेको ती सांसदले बताए । पुननिकट मानिएका पूर्वमन्त्री दुर्गा चापागाईंलगायत सांसदले पनि आङ्बोलाई मुख्यमन्त्रीका रूपमा स्वीकार गर्न नचाहेको उनको भनाइ छ ।

यता, कांग्रेस सांसद पनि तीन गुटमा विभाजित भएकाले कांग्रेसको नेतृत्वमा सरकार गठन हुने अवस्थामा नेतृत्व कसले गर्ने विषय टुंगिन बाँकी छ । कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौलानिकट उद्धव थापा, सभापति शेरबहादुर देउवानिकट हिमाल कार्की र नेता शेखर कोइरालानिकट केदार कार्कीले सरकारको नेतृत्वका लागि पहल गरिरहेका छन् । राप्रपासँग संवादमा रहेका गठबन्धन दलका प्रदेश सांसदका अनुसार नेतृत्व नपाउने अवस्थामा राप्रपाले कांग्रेस र माओवादी नेतृत्वको सरकारमा नजाने सर्त अघि सारेको छ । कांग्रेस नेता सिटौलाका कारण पार्टी छाड्न बाध्य भएका राप्रपा नेता भक्ति सिटौला थापाको नेतृत्वमा सरकारमा नजाने अडानमा रहेको कांग्रेसका एक सांसदले बताए ।

यो अवस्थामा कोइरालानिकट केदारले नै सरकारको नेतृत्व पाउने अवस्था रहेको ती सांसदको भनाइ छ । कांग्रेस सभापति देउवा पनि कोइरालानिकट केदारलाई नेतृत्व दिएर पार्टीभित्रको द्वन्द्व साम्य पार्ने दाउमा रहेको ती सांसदको दाबी छ । दलको नेता परिवर्तन हुने परिस्थिति नआउने अवस्थामा पनि यो प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि सांसदहरू एकजुट भएर अघि बढ्ने निर्णय संसदीय दलको बैठकले गरेको छ ।

एमालेसँग रहेको राप्रपा गठबन्धनमा नआउने र जसपाले पनि साथ छोड्ने अवस्थामा कोशीमा मध्यावधि निर्वाचनको बाध्यात्मक अवस्था सिर्जना हुनेछ । जसपाका एक नेताले आफ्नो पार्टीका एकमात्र सांसद निर्मला लिम्बूलाई गठबन्धन दलले मन्त्री नदिएको अवस्थामा सरकारलाई समर्थन नदिने पार्टीको नीति रहेको बताए । एमालेका कार्की नेतृत्वको सरकार ढलिसकेकाले स्थिर सरकार निर्माणका लागि राप्रपाले पनि साथ दिने गठबन्धन दलका नेताहरूको विश्वास छ । उनीहरूले प्रारम्भिक छलफलमा एमालेको सरकार ढलेको अवस्थामा राप्रपा गठबन्धनको सरकारमा सहभागी हुने सहमति भइसकेको बताए ।

राप्रपाले गठबन्धन दललाई साथ नदिएको अवस्थामा कोशीमा मध्यावधि निर्वाचन एकमात्र विकल्प रहन्छ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा १ सांसद छन् । यो अंक गणितमा गठबन्धन दलको नेतृत्वमा गठित नयाँ सरकारका मुख्यमन्त्रीलाई राप्रपाले साथ नदिए विश्वासको मत लिन सम्भव छैन ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यो अवस्थामा मुख्यमन्त्री नियुक्त हुने सत्ता गठबन्धन दलका सांसदले पनि संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्छ । संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्छ । धारा १८८ को उपधारा (३) अनुसार प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित नहुने अवस्थामा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत ४७ हुन्छ तर अहिलेको गठबन्धन दलमा सभामुख बाबुराम गौतमबाहेक ४६ जना सांसद मात्रै छन् । संविधानको धारा १८६ अनुसार प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय मतदान गर्ने सदस्यहरूको मत बराबर भएको अवस्थामा मात्रै अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने व्यवस्था छ । अर्थात् विश्वासको मतको प्रस्तावमा सभामुख गौतमले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् । यो अवस्थामा एमाले र राप्रपा गठबन्धनका ४६ जना सांसद उपस्थित भएर सभामुख गौतमलाई निर्णायक मत दिने अवस्था निर्माण नगर्ने निश्चित छ ।

कांग्रेस नेता उद्धव थापाले जसपा गठबन्धनबाहिर नजाने र राप्रपा पनि गठबन्धनमा आउने बताए । उनले प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेको समयसीमाभित्र सरकार गठन गर्ने बताए । कोशीमा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने अनेकौं कारण रहेको र संसदीय दलको विधानअनुसार दलको नेताले नै सरकारको नेतृत्व गर्ने व्यवस्था रहेको उनले सुनाए । माओवादीका इन्द्रबहादुर आङ्बोले पनि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र गठबन्धनको सरकार निर्माण हुने बताए ।

उनले सरकारको नेतृत्वको विषयमा गठबन्धन दलभित्र छलफल भइरहेकाले सबैको सहमतिमा सरकार गठन हुने विश्वास व्यक्त गरे । यस प्रदेशमा सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने आफूहरूको माग रहेको उनले सुनाए । एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले यसअघि आफूले सरकारको नेतृत्व गरिसकेकाले कांग्रेस र माओवादी जसले नेतृत्व गरे पनि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए ।

थापा, आङ्बो र राईले केन्द्रीय गठबन्धन गरेको निर्णय स्वीकार गरेर अघि बढ्ने बताए । गठबन्धन दलका अधिकांश सांसद सरकार गठनको विषयमा शीर्ष नेतालाई दबाब दिन शुक्रबारै काठमाडौं गएका छन् ।

यसअघि एमाले नेतृत्वको सरकार ढले पनि राप्रपाले साथ नछोड्ने बताउँदै आएका राप्रपा नेता भक्ति सिटौलाले सरकार ढलेपछि भने प्रतिक्रिया दिन चाहेनन् । उनीनिकट एक नेताका अनुसार शीर्ष नेताहरूबीच राप्रपालाई गठबन्धनमा ल्याएर कोशीमा स्थिर सरकार गठन गर्ने र मध्यावधि निर्वाचनमा नजाने निर्णय भइसकेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*