एक जितले नेपाल सेमिफाइनलमा

युवा बलर सन्तोष यादवले आठ रन खर्चेर पाँच विकेट लिएपछि नेपालले एसिसी यू–१६ इस्टर्न रिजन कपमा थाइल्यान्डलाई दुई सय २५ रनले हरायो
जनपत्र
१४ असार २०८०, बिहीबार ०७:११

नेपाली युवा क्रिकेट टोली एक जितका साथ एसिसी यू–१६ पुरुष इस्टर्न रिजन कप २०२३ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा बुधबारदेखि भएको प्रतियोगितामा नेपालले थाइल्यान्डमाथि दुई सय २५ रनको फराकिलो अन्तरले जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो ।

नेपाली युवा खेलाडीले बलिङ र ब्याटिङमा सानदार प्रदर्शन गरे । समूह ‘ए’बाट नेपाल एक खेलअगाडि नै अन्तिम चारमा पुगेको हो । यस समूहमा मलेसियाले पनि दुई अंक जोडेको छ । लगातार दुई खेलमा पराजित थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार नेपालले मलेसियाविरुद्ध खेल्नेछ । यस खेलको विजयी टोली समूहविजेता बन्नेछ । नेपाल प्रतियोगिताको साबिक दुईपटकको विजेता हो ।

सन्तोषको ह्याट्रिकसहित पाँँच विकेट
युवा बलर सन्तोष यादवले ह्याट्रिकसहित पाँच विकेट लिएपछि लक्ष्य पछ्याएको थाइल्यान्डको ब्याटिङ धराशायी भयो । नेपालले थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य दिएको थियो । थाइल्यान्डले प्रत्युत्तरमा १३।२ ओभरमा ४४ रन मात्र जोड्यो । थाइल्यान्डका आठ खेलाडी शून्यमा पेभिलियन फर्किए । प्लेयर अफ दी म्याच सन्तोषले ३।२ ओभरमा मात्र आठ रन खर्चिंदै ५ विकेट लिएका हुन् ।

सन्तोषले इनिङ्सको १४औँ ओभरमा ह्याट्रिक पूरा गरेका हुन् । सन्तोषले १२।६ ओभरमा आठौँ नम्बरका सुथिमोन थाङसोमलाई एलबिडब्लू धरापमा पारे । १४।१ ओभरमा प्रियावत नोर्दीलाई बोल्ड गरे । १४।२ ओभरमा सुफानत मुआंगसाईलाई एलबिडब्लू गर्दै सन्तोषले ह्याट्रिक पूरा गरेका हुन् । सन्तोषले ओपनर दानुफोन फुयाङ्गोतपिनितलाई ९।४ ओभरमा १२ रनमा पेभिलियन पठाए । राथासत वानितचाखामलाई ११।४ ओभरमा शून्यमा पेभिलियन फर्काए । स्पिनर अशोक धामीले तीन ओभरमा २ मेडनसहित ४ रन खर्चेर तीन विकेट लिए । अभिषेक तिवारीले २ विकेट हात पारे । थाइल्यान्डका ब्याट्सम्यान ईशान बेनर्जीले १६ रन तथा डानुफोनले १२ रन बनाए ।

नीरज र सूर्यांशुको शतकीय साझेदारी
नेपालका ओपनरद्वय नीरजकुमार यादव र सूर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६९ रनको विशाल योगफल तयार पारेको हो । ओपनर नीरजकुमारले ४३ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ७४ रन जोडे । सूर्यांशुले ५५ बलमा तीन चौकासहित ४० रनको योगदान गरे । नीरज र सूर्यांशुले पहिलो विकेटका लागि एक सय १० रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तेस्रो नम्बरका नरेन भट्टले ४३ बलमा पाँच चौकाको मद्दतमा अविजित ५५ रन जोडे । सन्तोषले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा चार चौका र एक छक्कासहित ४२ रन बनाए । नरेन र सन्तोषले चौथो विकेटका लागि ५५ बलमा ७१ रनको साझेदारी गरेका हुन् । कप्तान अभिषेक तिवारीले १४ रन र विकेटकिपर आशिष लुहारले १३ रनको योगदान गरे । नेपालले अतिरिक्त १९ रन पाएको थियो । थाइल्यान्डका निटपाखन मनुवन, फानुवात र ईशान बेनर्जीले समान दुई विकेट लिए ।

आइसिसी वरीयतामा नेपाल यथावत्
एकदिवसीय विश्वकपअन्तर्गत ग्लोबल छनोटबाट बाहिरिएको नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले सार्वजनिक गरेको नयाँ वरीयतामा यथावत् स्थानमा छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १४औँ स्थानमा छ । ग्लोबल छनोटको सुपर सिक्समा स्थान बनाउन चुकेको नेपालले अमेरिकालाई मात्र हराएको थियो । ग्लोबल छनोटको समूह ‘ए’मा नेपाल जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भयो । नेपालले आइतबार सातौँ र आठौँ स्थानको प्लेअफ खेलका लागि युएईसँग खेल्ने तालिका छ ।

आइसिसीको वरीयतामा नेपालले ३८ खेलमा ३५ रेटिङ अंक पाएको छ । नेपालअघि १३औँ स्थानमा आयरल्यान्ड, १२औँमा स्कटल्यान्ड र जिम्बावे ११औँ स्थानमा छन् । सुपर सिक्समा स्थान बनाएको नेदरल्यान्ड्स १५औँ स्थानमा छ । अमेरिका १६औँ र नामिबिया १७औँ स्थानमा छन् । सुपर सिक्समा स्थान पक्का गरेको ओमान एकदिवसीय वरीयताका १८औँ स्थानमा छ । युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् ।

नयाँ वरीयतामा अस्ट्रेलिया शीर्ष स्थानमा छ । पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इंग्ल्यान्ड पाँचौँ र दक्षिण अफ्रिका छैटौँ स्थानमा छन् । बंगलादेश सातौँ, श्रीलंका आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १०औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।

आसिफ र सोमपालको सुधार
आइसिसीको ब्याटिङ वरीयतामा ओपनर आसिफ शेख र अलराउन्डर सोमपाल कामीले स्थान सुधार गरेका छन् । आसिफ एक स्थान माथि उक्लँदै ७२औँ स्थानमा रहे । बलिङतर्फ सोमपालले पनि एक स्थान सुधार गर्दै ७४औँ स्थान प्राप्त गरे । ब्याटिङमा कप्तान रोहित पौडेल ७०औँ स्थानमा यथावत् छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ५९औँ, लेगस्पिनर सन्दीप लामिछाने २९औँ, करण केसी ९२औँ र ललितनारायण राजवंशी ९६औँ स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*