असोज १० गते ‘रातो टीका निधारमा’

अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार सार्वजनिक गरिएको ‘मेरो माया के हो ?’ बोलको गीतमा प्रदर्शन मिति नराखे पनि बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै निर्देशक शर्माले फिल्म असोज १० गतेबाट प्रदर्शनमा आउन जानकारी दिएका छन् । अहिलेसम्म यो डेटमा अरु फिल्मले प्रदर्शन मिति तोकेका छैनन् ।
यसअघि यो मितिमा दीपकराज गिरी समुहको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आउने चर्चा थियो । तर, प्रभास स्टारर फिल्म ‘साहो’ को डरले भाद्र १३ गतेबाट ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुने भएपछि दीपकराजले एक हप्तापछि फिल्म प्रदर्शन नगर्ने घोषणा गरे । उनको तर्क छ, ‘कबड्डी ३’ प्रदर्शनमा आएको एक हप्तापछि फिल्म रिलिज गर्दा हल पाइन्न । बरु, भाद्र २७ मा आउँछौं ।’
‘कबड्डी ३’ टिमलाई प्रदर्शन मितिमा पूर्नविचार गर्न आग्रह गरिरहँदा दीपकराजको हातबाट असोज १० गतेको मिति पनि उम्किएको छ । निर्देशक शर्माले ‘छ माया छपक्कै’ लाई चेपुवामा पार्न यो चाल चालेको कतिपयको विश्लेषण छ । भादै २७ को जाल फ्याकेर दीपकराजको टिम घटस्थापनाको छेको अर्थात् असोज १० मै फिल्म रिलिज गर्ने तयारीमा थियो । तर, अब यो ढोका पनि बन्द भएको छ ।