अदालतको आदेशपछि बेलहिया-बुटवल सडक विस्तार तत्कालका लागि रोकियो

बेलहिया-बुटवल सडक खण्डअन्तर्गत चौराहदेखि गोलपार्क चिडियाखोलासम्मको सडक विस्तारको काम तत्काल अगाडि नबढ्ने भएको छ। बुटवल-बेलहीया व्यापारिक मार्ग सडक विस्तार आयोजनाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै तुल्सीपुर उच्च अदालत बुटवल इजलासले रिट निवेदकको पक्षमा निर्णय गरेपछि सडक विस्तारको काम तत्कालका लागि अगाडि नबढ्ने निश्चित भएको हो। सो सडकखण्डमा पर्ने घरटहरा नभत्काउन माग गर्दै स्थानीयले आयोजनाको विरुद्धमा रिट हालेका थिए।
आयोजनाविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत तुल्सीपूर बुटवल इजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटी र न्यायाधीश दयानाथ खरेलको इजालसले ‘मुआब्जाका लागि परेका निवेदन अधिकारप्राप्त निकाय जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा पेस गरी व्यक्तिको स्वामित्व र क्षतिपूर्ति सम्बन्धमा कानुन सम्मत न्यायोचित निर्णय गरी आवश्यक निकासा नभएसम्म निवेदकहरुको घर भत्काउन र घरले चर्चेको जग्गा नियन्त्रणमा लिने कामकारबाही नगर्न/नगराउन विपक्षीका नाममा निषेधाज्ञा जारी हुने’ ठहर गरेको हो।