हेटौंडामा डेंगुबाट बच्न जनचेतना जगाईदै

हेटौंडा । हेटौंडामा डेंगुको प्रकोप नियन्त्रण गर्नका लागि १९ वटै वडामा वडा अध्यक्षको नेतृत्वमा टोली परिचालन गरिएको छ । डेंगुका कारण धेरै बिरामी परेको र यसको नियन्त्रणका लागि हरेक वडामा वडा अध्यक्षको नेतृत्वमा स्थानीय महिला स्वास्थ्य स्वयंसेबिका, टोल बिकाश संस्था, स्थानीय समुदाय सबैलाई एकैसाथ परिचालन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
बिशेषगरी ढेंगुको बढी बास स्थान भएको हेटौंडा ११ थानाभ¥याङ क्षेत्र र १० नम्बर वडामा रहेका पुराना टायर संकलन गरेर नष्ट गर्ने, टायरमा भएका पानी नष्ट गर्ने अभियानमा लागिएको उहाँले बताउनुभयो । जनचेतना जगाउँदै डेंगुको लार्भा र प्युपा बसने बास स्थान नष्ट गरिसक्ने गरी काम सुरु गरेको हो ।
उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्की सहितको टोली हेटौंडा बजार क्षेत्रका हरेक वडामा पुगेर समुदायलाई जनचेतना जगाउने र डेंगुको लार्भा र प्युपा बस्ने वास स्थानको नष्ट गर्न लागिएको हो ।
हेटौंडामा डेंगुका ८३ जना बिरामी
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको छ । साउन १ देखि २३ गते ८३ जना डेंगु संक्रमित फेला परेको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराएको कार्कीले बताउनुभयो ।
केही बिरामी काठमाडौंमा समेत उपचार गर्न गएको बताएकाले बिरामीको संख्या अझै धेरै हुने बताइएको छ ।
उपमहानगरपालिकाका मेयर महतले डेंगु नियन्त्रणको लागि तीव्र रुपमा काम गरिरहको बताउनुभएको छ । सबैलाई जनचेतना जगाउँदै यसबाट बच्ने उपायहरु सिकाएर सचेत रहन आग्रह गरिएको छ ।