दाहाल र भट्टराईविरुद्ध मुद्दा चलाउन आदेश

द्वन्द्वमा बालबालिका प्रयोग गरिएको विषय संक्रमणकालीन न्यायसाग सम्बन्धित भएकाले नियमित अदालतमा प्रवेश गर्न नसक्ने भन्दै सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका थिए
जनपत्र
२७ जेष्ठ २०८०, शनिबार ०७:१६

१० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि यो मुद्दा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गर्न खोजेका थिए ।

तर, यो संक्रमणकालीन न्यायको विषय भएकाले नियमित अदालतमा प्रवेश गर्न नसक्ने भन्दै सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले गत जेठ १६ गते दरपीठ ९दर्ता नगर्ने निर्णय० आदेश गरेका थिए । दरपीठको निर्णयविरुद्ध निवेदकहरूले सिधै इजलासमा निवेदन दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईले रिट दर्ता हुने आदेश दिएका हुन् ।

रिट निवेदकहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, रमेश बडाल, विष्णुप्रसाद भट्टराई तथा अधिवक्ताहरू ओम अर्याल, स्वागत नेपाललगायत २१ कानुन व्यवसायीले बहस गरेका थिए । प्रस्तुत मुद्दा नियमित अदालतकै क्षेत्राधिकारभित्र पर्ने भएकाले दरपीठविरुद्धको आदेश बदर हुनुपर्ने जिकिर उनीहरूको थियो ।

संक्रमणकालीन न्यायको संयन्त्रले अहिलेसम्म काम गर्न नसकेको, सर्वोच्चको आदेश आएको ९ वर्ष बितिसक्दा पनि ऐन संशोधन हुन नसकेको र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि एक वर्षदेखि पदाधिकारीविहीन भएकाले न्याय पाउने निवेदकहरूको नैसर्गिक हकलाई कुनै पनि बहानामा अस्वीकार गर्न नमिल्ने उनीहरूको तर्क थियो ।

द्वन्द्वमा बालसैनिक प्रयोग गरिएको विषयमा माफी तथा मेलमिलाप गराउने गरी सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्न नसक्ने भएकाले पनि सर्वोच्चमा रिट दायर हुन जरुरी रहेको अधिवक्ताहरूको जिकिर थियो ।

त्यसलाई स्वीकार गर्दै न्यायाधीश भट्टराईले रिट दार्ता गर्ने आदेश गरेका हुन् । आदेशमा भनिएको छ, ‘यस अदालतका रजिस्ट्रारबाट मिति २०८०।२।१६ मा भएको आदेश बदर गरिदिएको छ । रिट निवेदन दर्ता गरी नियमअनुसार गर्नुहोला ।’

महान्यायाधिवक्ता दीनमणि पोखरेलले भने यो मुद्दाको ठूलो तुक नभएको टिप्पणी गरे । ‘नेपालमा बालसेनाको कुनै कसुर भएको प्रमाणित छैन, त्यसैले यो मुद्दामा कुनै तुक भएजस्तो मलाई लाग्दैन,’ उनले भने ।इकान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*