गोरखाली कम्यूनिष्ट योद्धा श्रीनाथ अधिकारीप्रथि समर्पित

कृष्णउदास खनाल
२४ श्रावण २०७६, शुक्रबार ०८:३९

गाउँले परिवेश,गाउँले जीवन । २०५१ साल यस्तै साउन भदौको समय थियो सायद । म गोरखाको ज्ञान ज्योति माविको कक्षा पाँचमा पढ्दै थिए । त्यत्तिबेला दिउँसोको सायद २ जति बजेको थियो होला । ज्ञान ज्योतिमा धेरै राजनीनि हुने गर्दथ्यो तत्कालिन समयमा पनि । बिद्यालयमा सायद प्रअ बिजय अधिकारी(श्रीनाथ अधिकारी)कै दाइ थिए ।
केही माग लिएर श्रीनाथ सहितको टोली अफीसमा पस्यो। श्रीनाथ नाताले मेरो भान्दाइ(बुवाको भान्जा) थिए । यो अर्थमा मैले उनलाई राम्रोसँग चिन्नु पर्दथ्यो तर श्रीनाथ भूमिगत छन् भन्ने मैले सुनेको हुनाले उनलाई मैले माइली फूपुको घरमा जाँदा पनि देखेका थिइन । एकैचोटी स्कूलमा देखें अनि खासखुस कुरा पनि सुनें श्रीनाथको टोली स्कूलमा छिरेको छ । उनीहरु कम्यूनिष्ट हुन् । उनीहरु भूमिगत पार्टीमा मान्छे हुन् अब स्कूलमा केही गडबढी हुन्छ । बालक मनमा म पनि डराए र श्रीनाथ दाइलाई पहिलो पटक मैले त्यत्ति नै बेला देखेका थिए ।
पछि त्यस आसपासमा नै हुनु पर्दछ,माइती फुपू(श्रीनाथकी आमा)बिरामी पर्नुभयो । म फुपुलाई बोलाउन भनेर श्रीनाथ दाइकै घरमा गए । त्यत्तिबेला बल्ल प्रष्टसँग श्रीनाथ देखें र सामान्य कुराकानी पनि भयो तर म केटाकेटी नै थिए राजनीति,कम्यूनिष्ट,काँग्रेस भनेको त्यत्ति मलाई थाहा थिएन । पछि फुपुको पनि निधन भयो,त्यही समयमा नै ।
त्यसपछि निकै लामो समय मैले श्रीनाथ दाइलाई चाहेर पनि भेट्न सकिन । श्रीनाथको सर्वसाहार बर्गको राजनीतिबाट बुवा सहित गोरखाका अधिकांश परिवर्तनकारी नागरिकहरु प्रभावित थिए । २०५२ सालमा माओवादीले युद्ध घोषणा गरेपछि श्रीनाथ दाइ भूमिगत भए । भूमिगत भएपछि श्रीनाथको बुवा चन्द्रप्रसाद खनालसँग भेट भएको जस्तो लाग्दैन तर श्रीनाथको राजनीतिबाट बुवा पूरै प्रभावित हुनुहुन्थ्यो । २०५४ को अन्त्यतिर माओवादीहरु हाम्रो घरमा आउन थाले र त्यसपछि जनयुद्ध अवधीभर मेरो घर मामाघरको रुपमा स्थापित भयो र हरेक माओवादीको बुवा मामा हुनुभयो,यसको एउटै कारण हो श्रीनाथ दाइ ।तर,पनि २०५८ साल मंसिर १६ गते भच्चेक ब्यारेकको सेनाले माओवादीकै आरोपमा बुवा सहित चारजनालाई बेपत्ता बनायो र अहिलेसम्मम हामीले लाश समेत पाएका छैनौं ।
यता जनयुद्ध उग्र बन्दै थियो,म पनि ठूलो हुँदै थिए । २०५६ सालमा म कक्षा दशमा पुगें। मलाई त्यो दिन पनि याद नै छ,२०५६ साल भदौ ८ गते कथित माओवादीको आरेपमा भच्चेक स्थित प्रहरी चौकी र गोरखाकै जौवारी स्थित प्रहरी चौकीबाट खटिएको करिब एकसय जनाको प्रहरीको टोलीले बिद्यालय प्रांगणबाट नै पक्राउ ग¥यो । निकै ठूलो पानी परेको थियो,त्यो साझ । मलाई करिब ४५ मिनेर हिँडाएर माओवादी भएका आरोपमा भच्चेक चौकीमा ल्याइयो । अनि भच्चेक प्रहरी चौकीका इचार्ज चौधरी थर भएका असइ र जौवारीका प्रहरी निरीक्षक दिनानाथ मैनालीले करिब राति १ बजेसम्म तेरो भान्दाइ श्रीनाथ कहाँ छ ले भन्दै कुटपिट गरे । कंचटमा पेस्तोल देखाए । सायद मैले श्रीनाथ दाइ यही बस्छन् भन्ने थाहा भएको भए भनिदिनेथिएँ होला किनभने यानता सहन सक्ने अवस्था नै थिएन । रु उनीहरुले श्रीनाथ कहाँ छ साला भन् भनेर कुट्दा मैले भान्दाइको अनुसार झलझी संझने अनि मनमनै भन्थें दाइ तपाइको अभियान महान छ । लामो समय भएको थियो,भान्दाइ देख्न नपाएको त्यही फुपु दिदीको निधन भएका बेला देखेको थिए,पुलिसले श्रीनाथको नाउँ लिएर कुट्दा त्यही अनुसार संझन्थें ।
् प्रहरीले त्यही एक पटक मात्रै होइन मलाई थुनेको,पछि २०५७ साल जेठमा १० दिन गोरखा हिराशतमा राख्यो । तत्कालिन गोरखाका डिएसपी(हालका अतिरिक्त प्रहरी महानिरीक्षक )पुष्कर कार्कीको ठाडो आदेशमा मलाई थुनियो । चरम यातना दिइयो र त्यत्तिबेला पनि प्रहरीले श्रीनाथ दाइकै नाउँ लिएर दिनभर र रातिभर कुटपटि देखी यातना दिएको थियो । जति प्रहरीले मलाई बिना कारण भान्दाइको नाउ लिएर कुट्थ्यो मलाई भान्दाइप्रति उत्ति स्नेह जागेर आउथ्यो र उनको अभियान महान रहिछ भन्ने लाग्थ्यो ।
अन्ततः भान्दाइै प्रेरणाले २०५८ साल भदौमा म पनिमाओवादीको पूर्णकालिन कार्यकर्ता भए तर माओवादीमा भूमिगत हुँदा समेत श्रीनाथ दाइसँग मेरो भेट भएन । तर मलाई श्रीनाथ दाइ भेट्ने चाहना सँधै भइ नै रह्यो । पछि शान्ति बार्ता पछि २०६३ सालमा पहिलो पटक श्रीनाथदाइसँग लामो समयपछि,लामो दुःखपछि र ठूलो पारिवारिक क्षति पनि भेट भयो ।
पछि दाइ दशैं ताका घरमा गएका बेला भेट भयो । एकरात हाम्रै घरमा बस्नुभयो वास्तवमा राम्रोसँग मैले श्रीनाथदाई चिनेको त्यही बेला थियो । उहाँसँगको त्यो बेलासम्मको भेटमा भने राजनीतिक बाटो फरक भएको थियो मेरो र दाइको । म प्रचण्ड पक्षकै माओवादीमा थिए दाइ बैद्यमा हुनुहुन्थ्यो । रातको करिब १ बजेसम्म दाजु भाइको ठूलो राजनीतिक बहस भयो परिवारका सबै सदस्य र छिमेकी सहितको रोहबरमा । सायद दाजुको कुरा यो अर्थमा ठीक थियो होला कि उहाँले परिवार कहिल्यै भन्नुभएन । हुँदाखादाको जागिरलाई प्राथमिकता दिनु भएन । भएको सम्पत्ति पार्टीकरण गर्नुभयो । परिवारका सबै सदस्यलाई पार्टीमा नै समाहित गर्नुभयो । कम्यूनिष्टले ब्यक्तिगत सम्पत्ति कमाउने होइन,दलाल पूँजीवादको रक्षा गर्ने होइन । सामान्तवादीका चाकडी गर्ने होइन । शासनसत्ता गरिबको हातमा हनुपर्छ भन्ने उहाँको अटल शंकल्पमा मेरो जीत हुने ठाउँ थिएन तर मलाई मात्रै होइन धेरै श्रीनाथका चेलाहरुलाई लागेको थियो,श्रीनाथ एकदिन सांसद बन्नेछन् मन्त्री बन्नेछन् ।
तर,समय निकै कठोर हुन्छ । समयसँग संझौता त श्रीनाथले समेत अंगिकार गरेका सिद्धान्तका प्रतिवादक माओत्सेतुंगले समेत गरेकै हुन् । एकाएक श्रीनाथको शरिररमा रोग पसेको खबर हामीले सुन्यौं । मनमा झस्का पस्यो । राजनीतिक हिसावले श्रीनाथले अझै धेरे गर्न बाँकी नै छ भन्ने मनमा लाग्यो । तर,रोगले बिस्तारै दाइलाई च्याप्दै लगेछ र २०७६ साल असार २२ गते हामीबाट श्रीनाथ अधिकारी कहिल्यै नफर्कने गरी बिदा हुनुभएको छ । तिनै श्रीनाथलाई सिध्याउन पर्छ भनेर लाग्नेहरुले समेत उनको निधनमा गोहीको आँशु चुहाएको देख्दा उनीहरुप्रति दया लाग्यो । हामीले त एक कुशल राजनीतिक अभिभावक,कुशल घरको पनि अभिभावक गुमाउनु पर्दाको पीडा पक्कै छ । बुवाको लाश गायब गर्नेहरुलाई श्रीनाथले एकदिन ठीक पार्नेछन् भन्ने सपना पनि सकिएको छ तैपनि श्रीनाथले सिकाएका दर्शनहरु अमर छन् । अब कम्तीमा श्रीनाथका चेलाहरुले एक पटक उहाँको निधन भएपनि आफू कति श्रीनाथ पथमा छु भनेर आत्म समीक्षा गर्ने बेला आएको छ । परिवारका नाताले भान्दाइ,राजनीतिका नाताले एक आर्दश अभिभावक आदहरणीय श्रीनाथ दाइप्रति हार्दिक श्रद्धा सुमन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*