मिलन चाम्स फिल्म जगतको मेरो घर हो : विजय लामा
एक समयका सफल अभिनेता विजय लामा अहिले विमान चालकको रुपमा बढी परिचित छन् । आफ्नै पिताको निर्देशनमा बनेको फिल्म ‘आदर्श नारी’बाट अभिनय करिअर सुरु गरेका उनले एक सय बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी केही वर्ष भने अभिनयमा निस्क्रिय रहे । जब उनको भेट निर्देशक मिलन चाम्ससँग भयो, त्यसपछि निरन्तर फिल्ममा काम गर्दै आइरहेका छन् ।
उनले गएको चाररपाँच वर्षमा जति पनि फिल्ममा काम गरे, प्रायः निर्देशक चाम्ससँगका छन् । चाम्सले पनि आफ्नो हरेक फिल्ममा उनलाई छुटाउँदैनन् । यसैले निर्देशक चाम्सको ‘क्याम्प’बाट उनी बाहिर निस्कन नसकेको टिप्पणी हुने गर्छ । बुधबार आयोजित एक कार्यक्रममा पत्रकारले यसबारेमा सोधेको प्रश्नमा उनले मिलन चाम्स फिल्म जगतको आफ्नो एउटा घर रहेको प्रतिक्रिया दिए ।
‘मिलन चाम्स मेरो चलचित्र जगतको घर हो । मैले बेलायतमा ‘एभरेष्ट’ फिल्मको छायांकन गरिरहेको बेलामा मेरो सेड्युल मिलाएर मिलन भाईले यूकेमा भएको ‘हँसिया’ फिल्मको रेड कार्पेटमा मान(सम्मान गरेर लैजानु भएको थियो,’ उनले भने, ‘मिलन चाम्स मेरो लागि चलचित्र जगतको एउटा प्रमुख घर हो भने अहिले अर्को घर ९अन्तिम संस्कारका निर्देशक प्रदीप शाही० पनि थपिएको छ ।’
२०७७ सालमा निर्देशक चाम्सको फिल्म ‘गोर्खा वारियर’को घोषणा कार्यक्रममा उनले नेपाली फिल्म क्षेत्रका व्यक्तिहरुले आफूलाई विर्सिसकेको समयमा मिलन चाम्सले ‘हँसिया’ फिल्मको प्रिमियरमा बोलाएको स्मरण गरेका थिए । एक समय फिल्म क्षेत्रमा गुट र खेमाहरु एकआपसमा भिडेको देख्दा कलाकारितामा अब चाहिँ पुग्यो भन्ने सोचाइ समेत आएको कलाकार लामाले बताएका थिए ।






