‘दिमाग खराब’को मुहूर्त, ६ वर्षपछि एक्सन-कटमा निश्चल
सन् २०१७ मा आएको फिल्म ‘लुट २’पछि निर्देशनबाट टाढा रहेका निश्चल बस्नेत फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । सोमबार काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा फिल्मको मुहूर्त गर्दै उनले काभ्रेबाट छायांकन सुरु गरेका छन् । ३५ दिनको सेड्युल राखिएको फिल्म जनता र शक्तिको कथामा बन्नेछ । फिल्म आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ ।
आकाश बरालको पटकथा लेखन रहेको फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो छ । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् । स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा काम गर्न लागेकी हुन् । उनीहरुले आधा दर्जन बढी म्यूजिक भिडियो र फिल्म ‘घामड शेरे’मा भने एकसाथ अभिनय गरेका छन् ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । ‘लुट’बाट नेपाली फिल्ममा कथा भन्ने शैली नै बदलेका निश्चलको ‘दिमाग खराब’लाई लिएर दर्शकमा ठूलो अपेक्षा छ ।
‘लुट २’पछि निश्चल निर्देशनमा फर्किन नखोजेका होइनन् । लकडाउन अगाडि उनी फिल्म ‘जिन्दावाद’ निर्देशनको तयारीमा थिए । फिल्मको कथा ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरले लेखेका थिए । पछि बजेटका कारण फिल्म बन्न सकेन । ‘दिमाग खराब’ भने निश्चलले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’पछि घोषणा गरेका थिए । ९ वर्षपछि यो फिल्मको निर्माण सम्भव भएको हो ।






