नेपाली युवायुवतीलाई ठग्दै ‘ओरियन्स कम्पनी’

जनपत्र
२१ श्रावण २०७६, मंगलवार ०६:४८

नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ। ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो।

कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन्। यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै गरेका युवायुवती छन्। शुरुमा सदस्यता दिलाउने र चार दिनको आधारभूत प्रशिक्षण दिने गरिएको छ।

प्रशिक्षणपछि उनीहरुलाई अरुलाई सदस्यता बनाउन र सामान बेच्न पठाउने गरिन्छ। युवायुवतीलाई सदस्य बनाउने, प्रशिक्षण दिने काम भारतीय शहरमा हुने गरेको छ। सामान भने नेपाल र भारत दुवैतिर बिक्री गर्ने गरिन्छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा बाँके प्रहरीले सोमबार सीमावर्ती शहर रुपैडिहाबाट ओरियन्स कम्पनीको प्रशिक्षणमा बसेका ४४ जना युवायुवतीलाई नियन्त्रणमा लिएपछि वास्तविकता बाहिर आएको छ। रुपैडिहामा छात्राबास खोलेर दाङ, कैलाली र सल्यानका युवायुवतीलाई प्रशिक्षण दिने काम भइरहेको थियो।

दाङका २९, कैलालीका ११ र सल्यानका चार जना युवायुवतीलाई बाँके प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले ठूलो संख्याका नेपाली युवायुवतीलाई रुपैडिहामा राखेर प्रशिक्षण दिने गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग मिलेर छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको बताए। उनका अनुसार, नियन्त्रणमा लिइएका सबैसँग सोधपुछ पछि युवतीहरुलाई माइती नेपालमा पठाइएको छ।

ओरियन्स कम्पनीले शुरुमा युवायुवतीलाई सदस्यता बनाउने गर्दछ। फाराम भरेको दुई हजार पाँच सय लिन्छ। सदस्यका दुई प्रकार हुन्छन्, टुडी र थ्रीडी। टुडी बनेपछि ३४ हजार रुपैया तिर्नुपर्छ। थ्रीडी बन्दा एक लाख रुपैया बुझाउनु पर्छ। जस्तो, टुडी सदस्य बनेका व्यक्तिले पैसा बराबरको औषधी पाउँछन्। त्यो औषधी घरपरिवारलाई खुवाउने या अरुलाई बेच्ने उसको हातमा हुन्छ। एकजनाले दुई जना सदस्य बनाउनु पर्छ। एकजना सदस्य बनाएवापत १० प्रतिशत उसले पाउँछ। जस्तो, थ्रीडीवाला सदस्य बनाएमा उसले २० हजार पाउँछ।

‘आफू स्वस्थ रहौ, अरुलाई पनि स्वस्थ बनाऔं’ ओरियन्सको मूल नारा रहेको छ। ओरियन्सले शुरुमा रुपैडिहामा प्रशिक्षण दिने, त्यसपछि बहराइच, दिल्ली र चेन्नाई प्रशिक्षण दिने पक्राउ परेकाहरुले बताएका छन्।

ओरियन्सले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु हुन्। ओरियन्सको दाङको तुलसीपुरमा कार्यालय रहेको छ। एसपी वलीले रुपैडिहा, बहराइच, दिल्ली, चेन्नाई हुँदै खाडीमुलुकसम्म मार्केटिङ गर्न युवतीहरुलाई पठाउने आशंका गर्नुभयो। ‘यो त एकप्रकारले मानव तस्करी नै हो, मैले राम्ररी बुझ्दैछु, एसपी वलीले भने, कमिसनको नाममा युवायुवतीलाई फसाउने काम भइरहेको छ।’

भारतमा एकताका ताज, फेसन र विन–विन नामक यस्ता नेटवकिङ कम्पनीले नेपाली युवायुवतीलाई यसरी नै ठग्ने गरेका थिए, नेपालमा युनिटी जसरी।
देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*