‘देव वाणी’को मुहूर्त, नेपाली र हिन्दी भाषामा बन्ने

जनपत्र
६ जेष्ठ २०८०, शनिबार ०६:५९

बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको फिल्म ‘देव वाणी’को मुहूर्त गरिएको छ । हिजो शुक्रबार  काठमाडौंस्थित भद्रकाली मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मका कलाकारहरु रविन्द्र झा, कुन्दन भारद्वाज र अनुजा लेप्चाले मुहूर्त सट दिएका थिए । सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिने फिल्म आइतबारबाट फ्लोरमा जानेछ ।

पत्रकार शान्तिप्रियले क्यामराको ‘स्वीच अन’, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले निर्देशन, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेर फिल्मको मुहूर्त गरेका थिए । निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । फिल्मलाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा कुन्दन भारद्वाज, सुनिल थापा, ध्रुब कोइराला, अनुजा लेप्चा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहनेछ । यो फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्ता मौसम पौडेल हुन् भने निर्मातामा मिना खड्का र हिराबहादुर लेप्चा छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । ‘देव वाणी’बाट बाबु बलामी लामो समयपछि निर्देशनमा फर्किएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*