पलले आँचललाई लगाएको गुन

जनपत्र
२० बैशाख २०८०, बुधबार ०७:०३

नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रुचाइएको जोडी हो, पल शाह र आँचल शर्मा । पहिलो पटक फिल्म ‘नाईं नभन्नू ल ४’मा एकसाथ काम गरेका उनीहरुले त्यसपछि फिल्मसँगै म्यूजिक भिडियोमा लामो समय सहकार्य गरे । जोडी रुचाइनु र सहकार्य पनि निरन्तर हुँदा उनीहरुको सम्बन्धलाई लिएर व्यापक चर्चा पनि भयो । तर, दुवैले यसको खण्डन गर्दै असल मित्रताको मात्र सम्बन्ध दर्शाए ।

‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि एकसाथ काम गरेका उनीहरुबीच करिब तीन वर्षदेखि फिल्म र म्यूजिक भिडियोमा सहकार्य हुन सकेको छैन । यसलाई कतिपयले उनीहरुको सम्बन्ध चिसिनुको कारण मान्ने गरेका छन् । आँचलको बिहेको पार्टी छल्न पल मुक्तिनाथ दर्शनमा गएपछि यो कुरामा थप बल मिलेको थियो । तर, आइतबार ‘आँप जोडी’ले गजबकै ‘सरप्राइज’ दिए ।

आँचलको निमन्त्रणामा पलले फिल्म ‘नाइँ नभन्नू ल ६’ हेरेपछि उनीहरुको सम्बन्ध विग्रिएको भन्ने चर्चालाई मत्थर बनाएको छ । तीन वर्षपछि एकसाथ देखिएका उनीहरुले एकअर्काप्रति सम्मान भाव देखाए । पलले आँचलको अभिनयको मुक्तकण्ठले तारिफ गरे । आँचलले पललाई फिल्म क्षेत्रमा आफ्नो एकमात्र साथी भन्दै परिभाषित गरिन् । र, दुवैले भविष्यमा सहकार्य हुनसक्ने पनि बताए ।

आँचलले ‘नाइँ नभन्नू ल ६’का लागि आफ्नै समकालिनहरु अभिनेत्रीबाट साथ-सहयोग नपाइरहँदा पलले उनलाई ठूलो गुन लगाएका छन् । जेलबाट छुटेपछि उनले हलमा हेरेको यो पहिलो फिल्म हो । र, मिडियासामु उनले आँचलको अभिनयको जसरी तारिफ गरे, त्यसले मित्रताको उदाहरण पेश गरेको छ । ‘गाँस छाड्नु, साथीको साथ नछाड्नु’ भन्ने उक्तिलाई पलले चरितार्थ गरिदिएका छन् ।

तीन वर्षपछि एकसाथ देखिएर पल र आँचलले म्यूजिक भिडियो तथा फिल्ममा सहकार्यको ढोका समेत खुल्ला गरेका छन्, जुन यो जोडीका प्रशंसकहरुको पनि ठूलो इच्छा थियो । उनीहरुलाई लिएर फिल्म वा म्यूजिक भिडियो बनाउने इच्छा बोकेका तर सम्बन्ध विग्रिएको भन्ने चर्चाले आँट गर्न नसकेका मेकरहरुलाई पनि अब सहज भएको छ । प्रतिक्षा अब ‘आँप जोडी’को जुगलबन्दीको हो ।

तस्बिर : मिलन ढुंगाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*