‘प्रेमगन्ज’ बैशाख १ बाट सिनेमाघर एपमा
गत भदौ ३ गते हलमा प्रदर्शनमा आएको परिच्छेद सेन निर्देशित फिल्म ‘प्रेमगन्ज’ अब सःशुल्क प्लेटफर्म ओटीटीमा रिलिज हुने भएको छ । नयाँ वर्षको अवसरमा आगामी बैशाख १ गतेबाट सिनेमाघर एपमा फिल्म रिलिज हुन लागेको हो । कोरोना महामारीको समयदेखि यो ओटीटी फिल्मकर्मी र दर्शकको रोजाईमा परेको छ । यसमा यसअघि फिल्म ‘कबड्डी ४’ पनि रिलिज भएको थियो ।
हल रिलिजमा ‘प्रेमगन्ज’ले दर्शकबाट सुखद प्रतिक्रिया पाएको थियो भने समीक्षकहरुले पनि केही हदसम्म रुचाएका थिए । करिब तीन घन्टा लम्बाईको फिल्मलाई निर्देशक सेन स्वयंले लेखेका हुन । फिल्मको मुख्य भूमिकामा तेज गिरी र बेनिशा हमाल रहेका छन् । बेनिशाप्रति तेजको प्रेम आशक्तिलाई फिल्मले बोलेको छ । फिल्ममा निर्देशकदेखि कलाकारसम्मको काम प्रशंसनीय छ ।
दुई कालखण्डको प्रेमकथामा निर्माण भएको फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराईको पनि अभिनय छ । त्यस्तै, अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन् । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।






