बालुवाटार जग्गा किनबेचमा न्यायाधीश रेग्मी पनि

तत्कालीन कानुन व्यवसायी कुमार रेग्मीले २०६१ माघ ११ मा तीन कित्ता जग्गा मीनबहादुर गुरूङबाट किनी साढे दुई वर्षपछि टुक्राटुक्रा पारेर बेचेका थिए ।
जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०७:३७

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो ।
बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययनरअनुसन्धान गरिरहेका छन् । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार रेग्मीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा खरिद गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको अभिलेखबाट देखिएको छ ।

कान्तिपुरलाई प्राप्त मालपोत मोठको प्रतिलिपि लगतलगायत प्रमाणबाट रेग्मी उक्त जग्गा कारोबारमा संलग्न देखिएका हुन् । उनले २०६१ माघ ११ मा कित्ता नं। ४४, ४६ र १६५ को जग्गा किनेका थिए । भाटभटेनी सञ्चालक गुरुङबाट राजीनामा पास गरी जग्गा लिएका रेग्मीले मालपोतको अभिलेखमा ५ लाख ८२ हजार रुपैयाँमा खरिद गरेको जनाएर राजस्व तिरेका छन् ।

नापी कार्यालयको तत्कालीन अभिलेखमा रेग्मीले किनेको कित्ता नम्बर ४४ को जग्गा ५ आना ३ पैसा, कित्ता नम्बर ४६ को क्षेत्रफल ५ आना १ पैसा र कित्ता नम्बर १६५ को क्षेत्रफल २ पैसा २ दाम छ । सबै जोड्दा उनले किनेको जग्गाको कुल क्षेत्रफल ११ आना २ पैसा २ दाम हुन्छ । त्यतिबेला प्रतिआना करिब ५० हजार रुपैयाँका दरले कारोबार भएको देखिन्छ ।

जग्गा किनेको करिब साढे दुई वर्षपछि रेग्मीले टुक्राटुक्रा पारेर बेचेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुन्धानबाट देखिएको छ । कित्ता नम्बर ४४ को जग्गालाई ९६, ९७, ९८ र ९९ नम्बरमा कित्ताकाट गरिएको छ । यी सबै टुक्रा जग्गाको कारोबार २०६४ साउन ४ गते गरिएको छ । विभिन्न सरकारी निकायमा पुगेको अभिलेखमा भने साउन ६ गते पास भएको विवरण छ । टुक्रा पारेर बेचिएका जग्गामध्ये कित्ता नम्बर ९६ को क्षेत्रफल ६७ दशमलव ५६ वर्गमिटर छ ।

दुई आनाभन्दा केही बढीको यो टुक्रा रेग्मीले नूतन श्रेष्ठलाई बेचेको रेकर्ड छ । कित्ता नम्बर ४६ बाट ४६८ नम्बरमा कित्ताकाट भएको जग्गाको क्षेत्रफल १३ दशमलव ९१ वर्गमिटर छ । झन्डै दुई पैसाको टुक्रा पनि उनले नूतनलाई नै बेचेका थिए । मालपोतको लिखतअनुसार दुई टुक्रा जग्गा १४ लाख ६४ हजार २ सय ८६ रुपैयाँमा ‘राजीनामा’ पास भएको छ ।

कित्ता नम्बर ९७ को जग्गा २१ दशमलव ८५ वर्गमिटर छ । पुगनपुग तीन पैसा क्षेत्रफलको यो जग्गा अनिलमान ताम्राकार र अनितादेवी कंसाकारको नाममा गएको छ । लिखतमा उनीहरूले १ लाख ३ हजार रुपैयाँको कारोबार देखाएका छन् । कित्ता नम्बर ४४ टुक्रिएर बनेको मध्येको कित्ता नं। ९८ मा ४७ दशमलव ६९ वर्गमिटर क्षेत्रफल छ । करिब डेढ आना क्षेत्रफलको यो जग्गा सोही मितिमा रेणुका वज्राचार्यले खरीद गरेको देखिन्छ । यसमा २ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

कित्ता नम्बर ४४ टुक्रिएर बनेको कित्ता ९९ मा ४५ दशमलव ७ वर्गमिटर छ । करिब डेढ आनाको यो टुक्रा सानुछोरी वज्राचार्यलाई ३ लाख रुपैयाँमा बेचेको देखिन्छ । कित्ता नम्बर ४६ टुक्रिएर बनेको ४६९ कित्तामा ३९ दशमलव ७३ वर्गमिटर छ । एक आनाभन्दा केही बढीको यो जग्गा ओमवीरमान तामाङले खरिद गरेका थिए । यसको मूल्य ७ लाख १४ हजार २ सय ८६ रुपैयाँ उल्लेख छ । अर्को १६५ कित्ता पूरै २०६३ पुस १७ गते बिक्री भएको देखिन्छ, जसलाई विजेन्द जोशीले खरिद गरेका थिए ।

सबै जग्गा बिक्रीबाट रेग्मीले २८ लाख ६ हजार ७ सय ७ रुपैयाँ आम्दानी गरेको देखिन्छ । यसमा कित्ता नम्बर १६५ को बिक्री मूल्य समावेश छैन । साढे दुई वर्षमा २२ लाख २४ हजार ७ सय ७ रुपैयाँ खुद मुनाफा गरेका उनले २०६३ पुस १७ गतेपछि ललिता निवासको जग्गा आफ्नो नाममा बाँकी राखेका छैनन् ।

यी जग्गा कारोबारका बेला रेग्मी भाटभटेनी डिपार्टमेन्ट स्टोरका कानुनी सल्लाहकारसमेत थिए । उनले भाटभटेनीका सञ्चालकबाट जग्गा किनेर अरूलाई बेचेको देखिए पनि यी दुई पक्षको सम्बन्ध त्यसपछिका कारोबारमा समेत भेटिन्छ । २०६४ सालमा ४४ नम्बरको कित्ताबाट ३ दाम जग्गा कामना गुरुङका नामबाट विजय ताम्राकारलाई बिक्री भएको छ । त्यसमा मीनबहादुर गुरुङ अधिकृत वारेसनामा बसेका थिए । गुरुङले ललिता निवासका अन्य टुक्रा जग्गाहरूको कारोबार गरेकै मितिमा रेग्मीले समेत बेचेको देखिन्छ । गुरुङ र रेग्मीको जग्गा किन्ने व्यक्तिसमेत एउटै छन् ।

कित्ता नम्बर ४४ को जग्गाको इतिहास केलाउने हो भने २०५६ सालमा पुग्नुपर्छ । अधिग्रहणलाई जफतको अर्थ लगाई राणा परिवारले ललिता निवासको जग्गा आफ्नो नाममा दर्ता गरेपछि आफूहरू मोही भएको दाबी गरेका केही व्यक्तिले भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए ।

भूमिसुधार कार्यालयले उनीहरूको निवेदन सदर गरी जग्गा पाउने निर्णय सुनाइदियो । त्यसलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरिदियो । त्यसपछि कित्ताकाटका क्रममा माया प्रजापतिले जग्गा पाएकी थिइन् । उनको एक रोपनी दुई आना जग्गा माधवी सुवेदी र उमा ढकाल्नीका नाममा गएको थियो । पछि त्यही जग्गा गुरुङले लिएर रेग्मीलाई बेचेको देखिन्छ । आफूले किनेको एक वर्षमै गुरुङले रेग्मीलाई जग्गा बेचेका थिए ।

कित्ता नम्बर ४६ को जग्गा अर्का शंकास्पद मोही अष्टनारायण महर्जनका नामबाट बिक्री हुँदै गएको देखिन्छ । यस्ता सबैजसो किनबेचमा माधवी सुवेदी, उमा ढकाल्नी अनि सरकारी प्रतिवेदनमा भूमाफिया किटान भएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी जोडिएका छन् । पछि उनीहरूको समूहमा भाटभटेनीका सञ्चालक गुरुङसमेत सामेल भएर आफू, आफ्ना छोराछोरी अनि भाटभटेनीकै नाममा जग्गा किनेका थिए । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले गुरुङ र उनका यी लगायत जग्गा कारोबारमाथि छानबिन गरिरहेको स्रोतले बतायो ।

तत्कालीन अधिवक्ता रेग्मीले बेचेको कतिपय जग्गा पछि बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारले सट्टाभर्ना दिएको थियो भने कतिपयमा सरकारी बाटो कायम भयो । रेग्मीले बेच्ने क्रममा कतिपय जग्गामा बाटोको सुविधासमेत थिएन । सबैजसो जग्गा मोहीका नाममा आइसकेपछि बिक्रीवितरण गरिएको थियो ।

अख्तियार स्रोतका अनुसार जग्गा खरिदबिक्री गर्दा रेग्मीको कारोबारमा हालसम्म ‘कानुनी त्रुटि’ फेला नपरे पनि भूमाफिया किटान भएका व्यक्तिहरू र उनको कारोबारमा ‘समानता’ देखिएको छ । ‘अरू केही नहोला तर जुन दिन उहाँ ९रेग्मी० ले जग्गा किन्नुहुन्छ, बालुवाटार जग्गा प्रकरणका प्रमुख योजनाकारले त्यही दिन अरू धेरै कारोबार गरेको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘यो संयोगमात्रै होइन । उहाँले जग्गा बेचेकै दिन अरूले पनि बेचेका छन् । किन्नेहरूबीच पनि यस्तै समानता भेटिन्छ ।’ जग्गा कारोबारमा संलग्न व्यक्तिहरूको सञ्जाल र अन्तरसम्बन्धबारे अनुसन्धान भइरहेको भन्दै अख्तियार स्रोतले थप कैफियत’ भेटिए अनुसन्धानको दायरा अझै फराकिलो हुने जनाएको छ ।

‘फी बाँकी थियो, जग्गा लिएरबेचेको हुँ’

– कुमार रेग्मी
न्यायाधीश, सर्वोच्च अदालत

२०६० सालदेखि २०६४र६५ सम्म म भाटभटेनी डिपार्टमेन्ट स्टोरमा कानुनी सल्लाहकार थिएँ । त्यस्तो लिखित रुपमा त थिएन तर मीनबहादुर गुरूङ खोटाङकै हुन् । मेरो गाउँले पनि भए । म भर्खरै क्यानडाबाट एलएलएम गरेर आएको थिएँ । त्यसबेला मैले केही कानुनी सहयोग गरेको हो । त्योदेखि बाहेक अरु केही होइन । त्यो बेला कानुनी पाटो हेर्दा आफ्नो ‘फी’ को पनि कुरा थियो ।
अलिअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँगै धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एकरदुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै बिक्री गरेको हो । पछि उनले नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको मान्छे भएकाले नाफा होला भनेर लगानी गरेको हो ।
 कान्तिपुर दैनिकबाट समाचार साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*