‘बहाव’ हेर्दा थाइल्यान्ड घुम्ने मौका

जनपत्र
२० चैत्र २०७९, सोमबार ०६:१४

चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बहाव’प्रति दर्शकलाई आकर्षित गर्न एउटा आकर्षक योजना अगाडि सारिएको छ । फिल्मको टिकटमा ‘थाइल्यान्ड प्याकेज टुर’को अफर सार्वजनिक गरिएको हो । उक्त प्याकेजमा एक जोडीलाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाईसहितको चार रात, पाँच दिनको टुर समावेश रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिए ।

पुरस्कार जित्नका लागि फिल्मको टिकट डिजिटल वालेट खल्ती एपमार्फत काट्नुपर्ने र खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी (पहिचान) प्रमाणित भएको हुनुपर्ने सर्त राखिएको छ । गोला प्रथाबाट छानिने थाइल्यान्ड टुरको जिम्मा एमडी होलिडेजले लिएको छ । त्यस्तै, खल्ती एपबाट टिकट काट्दा ‘बहाव’ प्रोमो कोड प्रयोग गरेर १० प्रतिशतसम्म पैसा समेत फिर्ता पाउने बताइएको छ ।

खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले ‘बहाव’को प्रमोसनको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि खल्तीले यस्ता कार्यक्रमलाई बढवा दिने बताउँदै उनले खल्ती प्रयोगकर्ताका लागि थाइल्यान्ड भ्रमण अहिलेसम्मकै ठूलो पुरस्कार राशी रहेको बताइन् । त्यस्तै, एमडी होलिडेजकी प्रमुख प्रतिनिधि विनिता त्वयनाले विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्ने वाचा गरिन् ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको ‘बहाव’मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट, पवन श्रेष्ठको अभिनय छ । फिल्ममा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइनरमिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*