प्रदेश ३ बाट पत्रकार परिचयपत्र बितरण सुरु

पहिलो स्वतन्त्र पत्रकार परिचयपत्र पाउने युवराज घिमिरे
जनपत्र
१६ श्रावण २०७६, बिहीबार १९:४३

हेटौंडा । सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफट्वेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गरी सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले बिहिबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण शुरु गरेको छ ।

काठमाडौमा सूचना तथा प्रसारण शाखाको उदघाटनका अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारहरुलाई बिहिबार स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र बरिष्ठ पत्रकार युवराज घिमिरेलाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।

पत्रकारहरु राजकुमार रेग्मी,सुरेन्द्र पाण्डे, चिरञ्जीवी ढुंगाना, अरुणदेव जोशी, मनोज दाहाल, मात्रिका पौडेल, गंगा बिसी, अर्जुन खडका, सरस्वती कर्माचार्य, मणि लोहनी, छेटु शेर्पा र दिपा दाहालले सञ्चार रजिष्ट्रारको कार्यालयबाट स्वतन्त्र पत्रकार परिचयपत्र प्राप्त गरेका छन् । पत्रकार चिरञ्जीवी ढुंगानाले नविकरण गरेका हुन भने बाँकीले नयाँ स्वतन्त्र पत्रकार परिचय पत्र प्राप्त गरेका हुन । अंग्रेजी र नेपाली दुवै भाषामा रहेको परिचयपत्रमा राहदानी नम्बर, बाहकको मोबाइल नम्बर, रक्त समूह पनि उल्लेख गरिएको छ ।

गर्भनेन्स अटोमेसन सोलुसनले तयार गरेको सो सफटवेयरमा प्रदेश भित्र काम गर्ने पत्रकारहरुले आफनो ठाउँबाट अनलाइन मार्फत निवेदन दिन मिल्ने गरी निर्माण गरिएको छ । सफटवेयरमा पत्रकारहरुको व्यक्तिगत, शैक्षिक, तालिम, भ्रमण र अन्य विस्तृत बिवरण पनि राखिएको हुन्छ । पत्रकारहरुले आफनो विवरण राखेपछि सञ्चार रजिष्ट्रारको कार्यालयले कागजात अध्ययन गरी स्वीकृत गरेपछि सफटवेयर मार्फत नै परिचयपत्र पिडिएफ फाइलमा तयार हुन्छ र छापिन्छ ।

‘प्रदेश भित्रका कुनै पनि जिल्लाबाट अनलाइन मार्फत आफनो निवेदन दर्ता गर्न मिल्ने प्रणाली विकास गरिएकोले पत्रकारहरु प्रदेशको राजधानी हेटौडा वा काठमाडौ शाखामा पुगिराख्नु पनि पर्दैन, आफू कार्यरत जिल्लाबाट आफनो विवरण अपडेट गराएपछि प्राप्त भएका कागजात अध्ययन गर्छौ, परिचयपत्रलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउँदैछौ’ सञ्चार रजिष्ट्रार रेवती सापकोटाले भने ।
‘सूचनाको शक्तिमा खेल्ने पत्रकारहरुलाई सफटवेयर मार्फत प्रबिधिको सहायताले सहज बनाइएको छ । यसले डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न मद्दत पुग्नेछ’ सफटवेयर निर्माण कम्पनी सफटवेयर निर्माण कम्पनी गर्भनेन्स अटोमेसन सोलुसनका कार्यकारी निर्देशक डा भोजराज घिमिरेले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम पत्रकारहरुलाई सेवा पाउन सजिलो बनाउन हेटौडामा मुख्य कार्यालय र काठमाडौमा शाखा कार्यालय स्थापना गरिएको बताए । ‘यो व्यवस्थाले पत्रकारहरुलाई सेवा पाउन सहज हुने बिश्वास लिएका छौ’ सचिव श्रेष्ठले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले काठमाडौमा स्थापना गरिएको शाखा कार्यालयबाट काठमाडौ उपत्यका र वरीपरीका जिल्लाका पत्रकारहरुले सहज रुपमा सेवा लिन पाउने व्यवस्था गरिएको बताए । ‘संघीयता कार्यान्वयनको क्रममा जनताको नजिकमा सरकार पुग्ने यसरी नै हो । प्रदेश सरकार श्रमजीवी पत्रकार र सञ्चार माध्यम प्रति सकारात्मक छ’ मन्त्री जम्कटेलले भने ।
स्वतन्त्र पत्रकार परिचय पत्र प्राप्त गर्ने पत्रकार राजकुमार रेग्मीले आफनो अनुभव भावुक शैलीमा सुनाउँदै आफूले ३० बर्ष पत्रकारिता गर्दा प्राप्त गर्न नसकेको स्वतन्त्र पत्रकार परिचयपत्र प्रादेशिक सरकार मार्फत प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।

एक सय वाट भन्दा माथि एक हजार वाट सम्मका एफ एम रेडियो, स्याटेलाइट बाहेकका टेलिभिजन, अनलाईनको दर्ता र नवीकरण अव सञ्चार रजिष्ट्रारको कार्यालयबाट हुनेछ । प्रदेश मन्त्रिपरिषदको असार ९ गतेको बैठकले प्रदेश सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि प्रदेश अन्तर्गतका आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख राख्न कानूनी बैधता प्राप्त भएको हो । प्रदेश तीनले बनाएको ऐन र नियमावलीमा सञ्चार रजिष्ट्रारको कार्यालयले पुस्तकको अभिलेख पनि राख्नेछ ।

प्रदेश सभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चार माध्यम व्यवस्थापन बिधेयक पारित गरेको थियो भने प्रदेश प्रमुखबाट सो बिधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो । सोही ऐनको दफा ३१ बमोजिम ०७५ चैत २७ गते प्रदेश मन्त्रिपरिषदले सञ्चार माध्यमको दर्ता, अभिलेखीकरण, इजाजत, अनुगमन तथा नियमन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा सञ्चार रजिष्ट्रारमा पत्रकार रेवतीप्रसाद सापकोटालाई नियुक्ति गरेको थियो ।

सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयले ०७५ चैत २१ गते एकसय वाट भन्दा माथि एक हजार वाटसम्मका एफ एम प्रसारण र केवुलमा आधारित टेलिभिजन प्रसारणको इजाजत, नविकरण र नियमनका लागि कागजात तथा फाइलहरु पठाउन सकिने निर्णय गरेको थियो । तर ती फाइलहरु अहिले पनि सूचना तथा प्रसारण बिभागले प्रदेशमा पठाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*