मकवानपुरको परेवाभीरमा बाटो निर्माण

श्रमदानमा जुटे स्थानीय युवा
जनपत्र
१४ श्रावण २०७६, मंगलवार १२:५०

मनहरी–राक्सिराङ गाउँपालिका वडा नं ४ मा रहेको परेवाभीरमा दैनिक ज्यान जोखिममा राखेर हिँड्न बाध्य यात्रुहरुको सुविधाका लागि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पैदल मार्ग निर्माण गरिदिएका छन् । राक्सिराङ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सञ्जय कोइरालाको पहल तथा अगुवाईमा नेपाल कम्युनिष्ट पार्टीको स्थानीय वडा कमिटीका अगुवाहरु मिलेर पैदल मार्ग निर्माण गरेका हुन् ।

बाटोमा दैनिक जोखिम मोल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि स्थानीय जनश्रमदानबाट बाटो सुधार गरिएको वडाध्यक्ष कोइरालाले जानकारी दिए । बर्षायाममा बाटो सुधारका लागि कहीँकतैबाट आर्थिक स्रोत उपलब्ध नभएपछि जनश्रममै आधारित रही बाटोको काम गरिएको अध्यक्ष कोइरालाले बताए । बाटो निर्माणका लागि लगिएको एउटा ट्रयाक्टर समेत बगाएको थियो । माथिबाट पैदल हिँड्ने साँघुरो बाटो पनि भत्किएपछि भीरको बाटोमा ढुंगा समाउँदै हिँड्नुपर्ने बाध्यता रहेको थियो ।

मकवानपुरको दुर्गम राक्सिराङका ४ र ९ नं वडा तथा कैलाश गाउँपालिकाको वडा नं १, २, ७, ८ का बासिन्दा यही बाटो भएर र दैनिक उपभोग्य सामग्री खरिद गर्न तथा अन्य प्रशासनिक कामका लागि परेवाभीरमा ज्यान जोखिम मोलेर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।

३ नं प्रदेशका सांसद ओमबहादुर ग्लान (प्रदीप) ले परेवा भीरलाई काटेर चालू आर्थिक बर्षमा सडक खन्नका लागि प्रदेश सरकारसमक्ष माग गरेका छन् । राक्सिराङ गाउँपालिकाले पनि परेवाभीर खण्डमा बाटो बनाउनका लागि १ करोड रुपियाँ बिनियोजन गरिसकेका अध्यक्ष राजकुमार मल्लले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*