लागूऔषधको ट्रान्जिट बन्दै ‘मकवानपुर’

मकवानपुर, साउन १०, संघीय राजधानी काठमाडौं नजिक, तीन राजमार्ग र छोटो दुरीको हेटौंडा–भीमफेदी–काठमाडौं सडकको संगम रहेको मकवानपुर लागूऔषध गाँजा ओसारपसारको ट्रान्जिट बन्दै गएको छ । अघिल्लो आर्थिक वर्ष(आव)हरुमा भन्दा गत आव २०७५/७६ मा गाँजा र अन्य लागूऔषध बरामद गरेको तथ्याङ्कले मकवानपुर लागूऔषधको ‘हब’ बन्दै गएको प्रस्ट पार्छ ।
अघिल्लो आवको दाँजोमा गाँजामात्रै गतआवमा झण्डै तीन गुणा बढी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । अघिल्लो आव २०७४/७५ मा एक हजार एक सय १० किलो गाँजा बरामद गरेको मकवानपुरमा गत आव २०७५/७६ मा तीन हजार एक सय ९३ किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।
अघिल्लो आवमा बरामद भएको गाँजा भन्दा गतआवको चार महिना(चैत्रदेखि असार)मै बरामद भएको गाँजा बढी रहेको छ । गतआवको अन्तिम चार महिनामा प्रहरीले एक हजार दुई सय ६१ किलो गाँजा बरामद गरेको प्रहरी उपरिक्षक सिंहको भनाई छ ।
गत आव २०७५/७६ मा चरेश तीन सय पाँच किलो, खैरो हेरोईन २१ ग्राम चार सय ३५ मिलिग्राम, अफिम सात सय ग्राम मकवानपुर प्रहरीले बरामद गरेको थियो । लागूऔषध दुब्र्यसनीले प्रयोग गर्ने नाईट्रोभेट तीन हजार सात सय ३७, डाईजेपाम एक हजार आठ सय ३१, ब्यप्रोनोरफिन एक हजार सात सय १९, फेनारगन एक हजार सात सय ५२ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ४५ पिस र कोरेक्स एक सय ९९ बोत्तल बरामद गरेको प्रहरीले जनाएको छ ।
अघिल्लो आव २०७४/७५ मा प्रहरीले चरेश ७० किलो, अफिम एक किलो २४ ग्राम, हेरोईन ११ ग्राम, नाईट्रोभेट दुई हजार नौ सय ३७, डाईजेपाम एक हजार चार सय ४९, ब्यप्रोनोरफिन एक हजार तीन सय आठ, फेनारगन एक हजार चार सय ७७, नोर्फिन एक सय ४५, स्पास्मो एक सय ४६ र अपीडोल १८ ट्याब्लेट तथा कोरेक्स चार सय ४६ बोत्तल मात्र बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ८२ जना थुनुवामध्ये ५३ जना लागूऔषध कारोबार मुद्धाका रहेको छ ।
भारतीय नागरिकको संलग्नता बढ्दै
लागूऔषध ओसारपसारमा भारतीय नागरिकको संलग्नता बढ्दै गएको छ । लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ परेकाको प्रहरीको तथ्याङ्कले भारतीयको बढ्दो संख्यालाई प्रस्ट पार्छ । अघिल्लो आव २०७४/७५ मा १५ भारतीय(तीन महिलासहित) र ११ नेपाली महिलालाई लागूऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
दुई सय ११ नेपाली पुरुषसहित दुई सय ३७ जना अघिल्लो आवमा लागूऔषधसहित पक्राउ परेका थिए ।
गत आव २०७५/७६ मा भने तीन महिलासहित ३० भारतीय र छ नेपाली महिलालाई लागूऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । गतआवमा एक सय ६९ नेपाली पुरुषसहित दुई सय पाँच जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
साना सवारीको प्रयोग बढी
लागूऔषध ओसारपसारमा साना प्रकृतिको सवारी साधनको प्रयोग बढी रहेको पाईएको छ । मकवानपुर प्रहरीले गत आव २०७५÷७६ मा लागूऔषध ओसारपसारमा संलग्न रहेको भन्दै २१ सवारी साधन नियन्त्रणमा लिएको थियो । जसमध्ये साना प्रकृतिको सवारी साधन सुमो, कार, बोलेरो, मोटरसाईकलको प्रयोग सबैभन्दा बढी छ । प्रहरीका अनुसार कार छ, मोटरसाईकल चार, पिकअप÷बोलेरो चार, सुमो तीन, ट्रक दुई तथा स्कुटर, ट्याक्टर एक–एक वटा रहेको थियो । ती मध्ये भारतीय कार पाँच र सुमो दुई वटा रहेको थियो ।
अघिल्लो आव २०७४/७५ मा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये मोटरसाईकल २०, सुमो र स्कुटर दुई–दुई, ट्रक, कार र अटो एक–एक वटा रहेको थियो । ती मध्ये भारतीय कार एउटा र सुमो दुई वटा रहेको थियो । आजको नागरिक दैनिकका लागि अशोकसुजन श्रेष्ठले लेखेको समाचार हामीले साभार गरेको छौँ ।