माओवादीलाई बाहिर राखेर एमालेसँग कांग्रेसको सहकार्य हुँदैन : उपसभापति खड्का
काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गर्नुभएको छ ।
शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर शालिकको दर्शन गर्दै उहाँले यस्तो बताउनु भएकाे हो । उहाँले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर देशको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा देशलाई लैजाने सङ्कल्प गरेर चुनाव गएपछि सहमतिअनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताउनु भयो ।
उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर देशको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा देशलाई लैजाने सङ्कल्प गरेर गएका थियौँ । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो । दुर्भाग्यवश पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले, मैले भन्नुपर्छ, गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र अन्ततोगत्वा यो परिस्थिति बन्यो ।’
उपसभापति खड्काले उपराष्ट्रपति चुनावको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताउनु भयो । उहाँले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताउनु भयो । उहाँले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको चुनावमा पनि सकारात्मक परिणाम ल्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति चुनावको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको चुनावमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’